नवलपुर स्तरीय जिल्ला लिग फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कावासोती विजयी




कावासोती । नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

आजको उद्घाटन खेलमा नवज्योति युवा क्लब कावासोती विजयी भएको छ । हरियाली युवा क्लब रजहरलाई ३–२ शून्य गोल अन्तरले पराजित गर्दै आजको खेलमा कावासोती विजयी भएको हो ।



जिल्ला सदरमुकाम कावासोतीको वडा नं. १२ राजमन्दिरको मैदानमा सुरु भएको प्रतियोगिता जेठ १८ गतेसम्म चल्ने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

प्रतिायेतिामा जिल्लाका १२ वटा क्लवले भाग लिएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले जानकारी दिए । नकआउट चरणमा हुने प्रतियोगिताको विजेताले नगद ८० हजार पुरस्कार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले ५० हजार र दुई टिमलाई सान्त्वना पुरस्कार स्वरुप २०, २० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष पुनले जानकारी दिए ।

त्यसैगरी उत्कृष्ट स्ट्राइकर, किपर र धेरै गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि ७ लाख रुपैया एन्फाले सहयोग गर्ने, ६ लाख ५० हजार जिल्ला खेलकुद विकास समितिले प्रदान गर्ने र एक लाख २५ हजार सेन्ट्रल कलेज चितवनले सहयोग गर्ने अध्यक्ष पुनले जानकारी दिए ।

हरेक टिमलाई दर्ताका लागि तीन हजार रुपैयाँ तोकिएको छ । टिम दर्ता हुनका लागि क्लवको दर्ता प्रमाण पत्र, अडिट रिपोर्ट, प्यान नम्बर, बैंक खाता अनिवार्य गरिएको छ भने जिल्ला खेलकुद विकास समितिमा पनि अनिवार्य दर्ता भएको हुनुपर्ने छ । ए, बी र सी डिभिजन खेलेका खेलाडि समावेश गरिएको छैन ।

हरेक टिममा २५ जना खेलाडी दर्ता गर्न सकिने र ५ जना १९ वर्ष मुनिका हुनु पर्ने नियम अनिवार्य गरिएको आयोजकले जनाएको छ । टिममा अनुपस्थित भएमा २५ हजार जरिवानाको व्यवस्था गरिएको छ । नियमको पालना नगर्ने खेलाडिलाई २५ हजार जरिवाना र ६ महिनादेखि एक वर्षसम्म जिल्लामा खेल्न प्रतिवन्ध लगाइने अध्यक्ष पुनले बताए । विजेता टिमलाई प्रदेशमा खेल्नका लागि सिफारिस गरिने उनको भनाइ छ ।

भोलिको खेल विहान ७ बजे दुम्किबास विकास प्रतिष्ठान र अरुण विकास प्रतिष्ठान बीच हुने छ भने दोस्रो खेल साँझ ४ बजे डायमण्ड युवा सोसाइटी र नवदुर्गा क्लब विनयी त्रिवेणीबीच हुने छ ।



सम्बन्धित
Loading...