कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो।
थापाथलीस्थित कार्यालयबाटै प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार नै जिल्ला प्रहरी कार्यालय धनुषा लैजाने तयारी गरिएको छ। सिरोहियाले आफूलाई प्रतिशोध साध्दै पक्राउ गरिएको बताएका छन्।
उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।
सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।
सिरोहियाले गृहमन्त्री लामिछानेविरुद्ध दुईवटा राहदानीको मुद्दा रहेको भन्दै उनीविरुद्ध पनि भोलि पक्राउ पुर्जी जारी हुने आशा रहेको बताएका छन् ।