काँग्रेसका अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपालीहरुको विरोधको बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव पेस गरेका हुन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन ।
आजको बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो पूर्वअडान कायम राख्दै संसदमा नाराबाजी गरेका थिए । तर सभामुखले त्यसमाथि छलफलका लागि एक घण्टाको समय निर्धारण गरिएको भन्दै छलफललाई अगाडि बढाएका थिए ।
त्यसअघि राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । त्यसपछि नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भएको हो ।
यसैबीच नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका सांसद विष्णु पौडेलले आउँदो वर्षको नीति तथा कार्यक्रम संसद्मा वेल घेरेर नाराबजी गर्नुपर्ने प्रकृतिको नरहेको टिप्पणी गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच जारी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
पुरा भिडियो