शनिबारका दिन सरकारी गाडी दुरुपयोग, नवलपुर ट्राफिकले लियो ४ वटा सरकारी गाडी नियन्त्रणमा




रामकुमार श्रेष्ठ –

नवलपुर । शनिबारका दिन सरकारी गाडी दुरुपयोग गरेर सञ्चालन गरेको आरोपमा जिल्ला ट्राफिक कार्यालय नवलपुरले ४ वटा सरकारी गाडीलाई नियन्त्रणमा लिएको छ ।




विदाको दिन सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सरकारी सवारी साधन सञ्चालन गर्न पाउनेमा त्यसो नगरेको व्यापक जनगुनासो आएपछि चेकजाँचलाई कडाई गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले नवलपुरमा पालिकाको सरकारी साधनको व्यापक दुरुपयोग भएको गुनासो आएको बताए । उनले भने – बेसी मात्रामा पालिकाका सरकारी गाडीहरुको विदाको दिन पनि व्यापक रुपमा दुरुपयोग भएको जनगुनासो आएको छ । त्यसैले हामीले कडाईका साथ चेकजाँच बढाउन निर्देशन दिइएका छौं ।

शनिबार नवलपुरको गैडाकोटमा ट्राफिक प्रहरीले गरेको चेकजाँचको क्रममा नवलपुरको बुलिङटार गाउँपालिकाको लु १ झ ६७६ नम्बरको सरकारी गाडी सहित ४ वटा सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक अच्युतराज आचार्यका अनुसार ट्राफिक प्रहरीले बुलिङटार गाउँपालिकाको लु १ झ ६७६, सडक डिभिजन कार्यालय हेटौडाको गण्डकी प्रदेश ०३–००१–००४२, स्वास्थ्य अनुसन्धान परिषदको बा.प्र. ०३–०१ ब ६७२० र संघीय आयोजना कार्यान्वयन इकाइको बा २ झ २९५५ नम्बरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । ति सवारी साधनलाई दिन भर नियन्त्रणमा लिएर ५ बजे पछि छाडिएको उनले बताए ।



सम्बन्धित
Loading...