नवलपुरमा सञ्चालन भएका १८ वटा उपआयोजनाको हस्तान्तरण





नेपाल लाइभस्टक इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाईद्वारा नवलपुरमा सञ्चालन भएका १८ वटा उपआयोजनाहरुको समापन तथा हस्तान्तरण कार्यक्रम आज कावासोतीमा भएको छ ।

नवलपुरमा सहकारी तथा व्यक्तिगत समेत गरि गाई भसी , बाख्रा पालन तथा दूधजन्य पदार्थमा लगानी गरेको थियो । जसका लागि सहयोग पुग्ने दाना उद्योग , घाँस बीउ संकलन केन्द्र , मलमूत्र प्रशोधन प्याकेजिङ , पशु सेवा केन्द्र लगायतका भौतिक संरचना समेत निर्माण गरिएको छ ।


आयोजनाले नवलपुरका आठ वटै पालिकामा अनुदान उपलब्ध गराएर उपआयोजनाहरुको काम सम्पन्न भएपछि आज हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा , उपप्रमुख सकुन्तला लम्सालको उपस्थितमा उपआयोजनामा आबद्ध रहेका किसानलाई सम्मानपत्र प्रदान गरिएको थियो । भने आठ वटै पालिकाका पशु सेवा शाखा प्रमुख र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख ऋषभ गुरागाइँलाई पनि उपआयोजनाको बारेमा विस्तृत विवरण सहितको जानकारी पुस्तिका हस्तान्तरण गरिएको थियो ।

नेपाल लाइभस्टक इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाई पोखराका प्रमुख विश्वनाथ गौतमले समन्वय प्रमुख बाबुराम विश्वकर्मालाई समेत जानकारी पुस्तिका प्रदान गर्नुभएको थियो ।

आयोजनाले अनुदान उपलब्ध गराएर जिल्लामा सञ्चालन भएका उपआयोजनाहरुको बारेमा जानकारी लिएर आउँदा दिनहरूमा अझै वृद्धि विकास गर्न र लगानी खेर जान नदिनका लागि यसरी कार्यक्रम गरि हस्तान्तरण गर्ने कार्य गरिएको आयोजना प्रमुख विश्वनाथ गौतमले बताउनुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधि सबैलाई समेत उपआयोजनाको बारेमा जानकारी दिई किसानलाई प्रोत्साहन गर्दै कृषि पेशामा लागेकालाई पलायन नहुने वातावरण बनाउन भूमिका निर्वाह गर्न अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा आयोजना प्रमुख गौतमले आफ्नो प्रस्तुती राख्दै गण्डकी प्रदेशमा ७ वटा जिल्लामा आयोजनाले काम गरेको बताउनुभयो । जसमध्ये नवलपुर रहेको र नवलपुरमा आयोजनाबाट ७ करोड बराबरको अनुदान उपलब्ध गराएको र किसान समेतको लगानी गरेर करिव २० करोड बराबरको काम भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै समन्वय प्रमुख बाबुराम विश्वकर्माले किसानले गर्ने काम भनेको दुख र मेहेनतको काम भएकाले जोकोहीले किसानी काम गर्न नसक्ने बताउनुभयो । जुन मेहेनत किसानको छ त्यो अनुसारको उत्पादनको भाउ नपाउने समस्या रहेकाले यस्ता समस्या समाधानका लागि समेत सरकारबाट पहल हुन जरुरी रहेको बताउनुभयो । आफ्नै देशमा कृषि पेशा गर्दै समृद्ध देश निर्माण गर्न लागि परेका किसानहरूलाई उनीहरूको आवश्यकता अनुसारको सेवा सुविधा , अनुदान तथा सहुलियत दिएर पलायन हुनबाट रोक्न जरुरी रहेको समेत उहाँले बताउनुभयो ।
किसानको तर्फबाट बोल्दै गोपाल श्रेष्ठले आयोजनाबाट पाएको अनुदानले धेरै काम गर्न सफल भएको बताउनुभयो । तर काम गर्दा धेरै समस्या र चुनौती समेत सामना गर्न परेको उहाँको भनाई थियो ।



सम्बन्धित
Loading...