बुटवलकोे डेल्टा कम्प्लेक्समा आगलागी, ५० करोड बराबरको क्षति





बुटवलकोे डेल्टा कम्प्लेक्समा लागेको आगो झण्डै ८ घण्टामा निभेको छ । आगलागीबाट करिव ५० करोडको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । बिहीवार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर बल्ल नियन्त्रणमा आएको थियो । कम्प्लेक्समा लागेको आगोले भवनसंगै भित्र रहेका सामानहरु पूर्ण रुपमा जलेर नष्ट भएपछी निभेको हो ।

आगलागीपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीका बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरि १३ वटा दमकल आगो नियन्त्रणमा प्रयोग गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।


कम्प्लेक्स नजिक मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्ती रहे पनि अन्यत्र आगो फैलिनबाट जोगाईएको थियो । मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ साढे ६ बजेदेखि आगलागी सुरु भएको थियो।

करिव ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री , नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नका मार्ट संचालनमा थिए ।

फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । चौथो तल्लाबाट सुरु भएको आगो एकैपटक सबै तलामा फैलिएको थियो। कम्प्लेक्सको माथिल्लो तलामा डेल्टा एजुकेशन मार्ट रहेको थियो भने अन्य तिनवटा तलामा नेपाली जुत्ता बजार, नेपाली लुगा घर र खाद्यान्न पसल थिए । आगलागी बाट भएको क्षतीको एकिन विवरण आउन बाकी रहे पनि करिव ५० करोड वरावरको क्षती भएको हुन सक्ने जनाईएको छ ।

बुटवलका ठुला व्यवासायी र शिक्षण पेशाका अगुवाहरुले ५ बर्ष पहिले संचालन गरेको डेल्टा एजुकेशन मार्टमा पछिल्ला दुईबर्षदेखी नेपाली जुत्ता घर र नेपाली लुगा घरपनि संचालन गरिएको कम्प्लेक्सका संचालक घनश्याम पाठकले जानकारी दिए।



सम्बन्धित
Loading...