नवलपुरमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका २० वटा घटना, बालिका बलात्कार सबैभन्दा धेरै




नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम २०८१ असार १० गते नवलपुरको कावासोतीमा सम्पन्न भएको छ ।

कार्यक्रममा नवलपुर जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीले जनवरी २०२४ देखि हालसम्म इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विवरण र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । इन्सेकको अभिलेख अनुसार नवलपरासी पूर्व नवलपुरमा सन २०२४ को जनवरी देखि जुन सम्मको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका २० वटा घटना अभिलेख भएको जिल्ला प्रतिनिधि पंगेनीले जानकारी गराउनुभयो ।



जसमध्ये सबैभन्दा बढी बलात्कारका घटना अभिलेख गरिएको उहाँले जानकारी दिनुभयो । यस अवधीमा अभिलेख गरिएका सबै घटनामा सबै गैर राज्य पक्षबाट पीडित भएका छन् । हत्या एक , कुटपिट २ , बलात्कार यौन दुर्व्यवहारको १३ वटा घटना इन्सेकले अभिलेख गरेको उहाँले जानकारी दिनुभयो । जसमध्ये ८ वटा बालिका बलात्कार र दुई वटा बालयौन दुर्व्यवहारका छन् । महिला विरुद्धका घरेलु हिंसा २ , बहुविवाहका दुई रहेको पंगेनीले बताउनुभयो । जिल्लामा बलात्कार र यौनहिंसाका घटना बढि भएको छ । त्यसमा पनि परिवारकै सदस्यबाट यौनहिंसामा परेका जघन्य प्रकृतिका घटना भएका छन् । ६ वर्षकी बालिकादेखि ६७ वर्षकी महिला समेत यौन हिंसाबाट पीडित भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति उपप्रमुख सकुन्तला लम्सालले इन्सेकले अभिलेख गरेको घटनाहरूले समुदायमा अझै पनि महिला बालबाहिकाहरु नै बढी प्रभावित छन भन्ने देखिएको बताउदै यस्ता घटनाको न्यूनीकरण गर्न र समाजमा हुन नदिन सबै एकजुट भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले बालिकामाथि हुने यौन दुर्व्यवहारका घटनाहरू ब्ढ्नु भनेको चिन्ताको विषय रहेकोले अब यी घटनाहरूको रोकथामका लागि सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष दिपक भट्टराईले महिला बालबालिकामाथि हुने हिंसा डरलाग्दो देखिएकोले यसतर्फ सबै सचेत हुन जरुरी रहेको औँल्याउनुभयो । देवचुली नगरपालिकामा बालिकामाथि हिंसाको घटना बढी भएको देखिएकोले र उक्त पालिका गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका भएको हुँदा यो गम्भिर विषय बनेको उहाँले बताउनुभयो । उक्त पालिकामा रहेका सरोकारवाला निकाय र पालिकाले आफैँ पनि यस्ता घटना हुन नदिन अभियान नै सञ्चालन गर्नुपर्ने उहाँले सुझाव राख्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले इन्सेकले मानव अधिकार उल्लङ्घनको घटनाहरू अभिलेख गर्दै जिल्लामा मानव अधिकारको अवस्था कस्तो छ भन्ने थाहा पाउन मदत गर्दै आएको बताउनुभयो । इन्सेकले गरेको अभिलेखबाट जिल्लामा मानव बालबालिकाहरू बढी हिंसामा परेको देखिएकोले मानव अधिकारको रक्षाका लागि काम गर्ने सङ्घसंस्थाहरूले एकआपसमा सहकार्य गर्दै सचेतनाका काम र न्यायका लागि पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश , नेपाल पत्रकार महासंघ नवलपुर, जागृती बाल तथा युवा सरोकार , नगर युवा सञ्जाल , नगर बाल सञ्जाल , मानव अधिकार समूहका प्रमुख प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीको अध्यक्षतामा भएको थियो भने , इन्सेक मानव अधिकार समूहकी सदस्य राधा बोटेले सहजीकरण गर्नुभएको थियो ।



सम्बन्धित
Loading...