बुटवल नारायणगढ सडक ६ ठाउँमा एकतर्फी

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा बर्षाका कारण गएरातिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दाउन्नेका ६ स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको छ ।
पौडेलका अनुसार चाइना स्टेट कम्पनीले दाउन्नेमा ससाना खोल्सा र खोलामा कल्भर्ड निर्माणमा ढिलाइ गरेका कारण पानीपर्ना साथ सडक एकतर्फी हुने गरेको छ ।
दाउन्ने डाँडाको दुम्किबासदेखि बर्दघाटसम्म ठाउँठाउँमा बाटो हिलाम्म हुनुका साथै बाटो चिप्लो भएको कारण यातायात आवतजावतमा समस्या भएको छ ।
आधाघण्टामा पार गर्न सकिने दाउन्नेको १४ किलोमिटर सडक खण्ड पार गर्न अहिले ५÷६ घण्टा लाग्ने गरेको छ ।