असार १५ः नवलपुरमा बल्ल २० प्रतिशत रोपाइँ





नवलपुर — समयमा नै वर्षा नहुदा पूर्वी नवलपरासीमा २० प्रतिशत मात्र रोपाइँ भएको छ । भुमिगत सिंचाइको प्रबन्ध भएका किसानले मात्र धान रोपेका छन् । शुक्रबार रातिदेखि वर्षा भएकाले अब किसानले धमाधम धान रोप्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

लामो समयसम्म परेको खडेरीको कारण किसानले समयमा नै बीउ राख्न नपाएको र रोपाइँ पनि समयमा नै गर्न नपाउँदा असार १५ सम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीले बताए ।


असार १५ सम्म अघिल्लो वर्ष जिल्लामा ४० प्रतिशत रोपाइँ भएको थियो । जिल्लामा १८ हजार ६ सय २८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यसैबीच धान दिवसको अवसरमा जिल्लाका स्थानीय तह र कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।

कृषि ज्ञान केन्द्र नवलपुर र मध्यविन्दु नगरपालिकाको आयोजना तथा शिरथान कृषक समूह मध्यविन्दु ४ लुसलहरीको सहकार्यमा नवलपुरमा धानमहोत्सव गरिएको छ । रोपाइँ सुरु गर्नुपूर्व बाजागाजा सहित नाचगान गरिएको थियो ।

त्यस्तै महोत्सवमा डोरी तान्ने र दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो । सरकारी निकायले विभिन्न कार्यक्रम गरेर दिवस मनाएपनि किसान भने सिचाइँ र समयमा नै रासायनिक मल नपाउँदा समस्यामा छन् ।



सम्बन्धित
Loading...