विना दर्ता सञ्चालनमा रहेको मेनपावर शिल, २ जना सञ्चालक भारतीय नागरिक पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा विना दर्ता सञ्चालनमा रहेको मेन पावर कम्पनीलाई शिल गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले श्रम तथा रोजगार कार्यालय रुपन्देहीको सहयोगमा रामग्राम नगरपालिका ५ बाइपासमा सञ्चालनमा रहेको जेडी मेनपाव सर्भिसेजलाई शिल गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराका अनुसार जेडी मेनपावर सर्भिसेजका सञ्चालक भारतको महाराष्ट्र प्रदेशको मुम्बई जिल्ला बर्भे पोष्ट अस्लफा नगरगाउँ निवासी २४ बर्षीय निर्सग रविन्द्र राणे र मुम्बईको कोलाव बस्ने ३७ बर्षीय जावेद मसिहलाई पक्राउ गरेको छ ।
बिना दर्ता मेनपावर सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली गई सोधपुछ गर्दा विना दर्ता सञ्चालन गरेको पाइएपछि मेनपावरको कार्यालय शिल गरी २ जना भारतीय नागरिकलाई पक्राउ गरेको बोहोराले बताए ।
अनुसन्धानको क्रममा निजहरुले करिब ५ दिन अगाडिदेखि उक्त कार्यालय संचालन गरेको र रसिया, अस्ट्रेलिया, ईटाली लगायतका देशहरुमा लैजाने उद्देश्यले कार्यालय सञ्चालन गरेको पाइएको प्रहरीले अनुसन्धानको क्रममा पाएको जनाएको छ ।
प्रहरीले कार्यालयबाट २ थान मोबाइल, १ थान ल्यापटप, भारतीय आधारकार्ड, भारतीय बैंकको चेकबुक, डेबिड कार्ड बरामद गरेको छ ।
पक्राउ परेको दुई जना र बरामद सामग्री आवश्यक कारवाहीका लागि श्रम तथा रोजगार कार्यालय रुपन्देही बुटवलमा बुझाइएको प्रहरीले जाएको छ ।
उनीहरुले अहिलेसम्म कुनै कारोबार गरेको उजुरी भने नपरेको प्रहरीले जनाएको छ ।