उपत्यकाका खोलामा पानीको बहाब बढ्यो, खोला किनारमा प्रहरीको पेट्रोलिङ
काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् ।
शुक्रवार रातिदेखि परेको पानीका कारण काठमाडौँका मुख्य नदीहरूको बहाव बढेको छ । बागमती र विष्णुमती नदीको जल सतह बढेको छ ।
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । फलतः नदी आसपासका बस्तीमा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण उपत्यकाको नदीहरूमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर राखेर प्रहरीले खोला किनारमा पेट्रोलिङ गरिरहेको छ ।
उपत्यका स्थित बागमती, विष्णुमती र मनोहरा खोलामा नियमित गस्ती पट्रोलिङ भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेश मैनालीले बताए ।
दुर्घटना भएमा उद्धारका लागी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको एसएसपी मैनालीले जानकारी दिए । गए रातिदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण उपत्यकामा कुनै अप्रिय घटना भएको छैन ।