निर्माणमा लापरवाहीले दाउन्ने चोरमारा सडक खण्ड सधैं सास्ती
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वपश्चिम राजमार्ग सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीको लापरवाहीका कारण यो बर्षामा पानी पर्ना साथ नवलपुरको चोरमारादेखि दाउन्नेसम्मको सडक खण्डमा यात्रुले दैनिक जसो सास्ती बेहोर्नु परेको छ ।
करिब १ घण्टामा पार गर्न सकिने यो सडक खण्ड अहिले घण्टौ लाग्ने गरेको छ । दाउन्ने सडक खण्ड मात्र १४ किलो मिटरको छ । बाटो सहज भए बढीमा २० देखि ३० मिनेट लाग्ने यो सडक खण्ड मात्रै पार गर्न ४÷५ घण्टा लाग्ने गरेको छ भने । दाउन्नेदेखि पूर्व चोरमारासम्म करिब ४० किलोमिटर खण्ड अहिले पानी पर्दा पुरै हिलाम्मे हुने र घाम लाग्ना साथ पूरै धुलाम्मे हुने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार पछिल्लो एक सातामा पानीकै कारण सबैभन्दा बढी दाउन्ने र चोरमारा खण्डमा बढी सडक अवरुद्ध भयो ।
पछिल्लो ३ दिनेमा चोरमारा खण्डमा सडक ५ पटक बढी अवरुद्ध हुन पुग्यो भने दाउन्ने सडक खण्डमा एक सातामा सात पटक भन्दा बढी पटक अवरुद्ध भएको छ । त्यसो त ३ साता अगाडि पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीको रोहबरमा चाइना स्टेट कम्पनीसँग बसेको छलफलले सडक अवरुद्ध भएको १ घण्टा भित्रै सडक खोल्ने प्रतिबद्धता जनाए पनि त्यो अनुसार काम हुन सकेको देखिदैन ।
सामान्य पानी पर्नासाथ बाटो हिलाम्य हुने र गाडीहरु पास हुन नसकेर बाटो अवरुद्ध हुने गरेको छ ।
यता नवलपुरको गैडाकोट ३ मा कालीगण्डकी करिडोर र हुप्सेकोट ५ मा रुद्रपुर धौवादी सडक खण्ड ४ दिनदेखि अवरुद्ध रहेको छ ।