पहिरोमा परी त्रिशुलीमा २ वटा बस खस्यो, ६५ यात्रु रहेको अनुमान, उद्दार कार्य जारी
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता बस तथा यात्रु खोज्न सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे ३ बजेतिर भरतपुर महानगरपालिका-२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।
ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ ।
गौर जाँदै गरेको गणपति डिलक्स बसमा काठमाडौंबाट चढेका थिए २७ यात्रु (नामसहित)
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।
काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।
प्राप्त सो बसका यात्रुहरुको विवरण सबै यात्रुहरुको पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ ।
यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ ।
नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम भने उल्लेख छैन ।
काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।
काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।
दुर्घटनास्थलमा एकतर्फी सडक खुल्यो, कालीखोलामा अझै खुलेन
नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो ।
पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक खुलाएर केही गाडी जान दिए पनि निरन्तर वर्षासँगै माथिबाट ढुंगा झर्न नरोकिएकाले गाडी चल्न सकेका छैनन् ।
पहिरो खस्दा अवरुद्ध बनेकाे नारायणगढ मुग्लिन सडकखण्डकै कालीखोला क्षेत्रको सडक खुलाउन भने केही समय लाग्ने भएको छ । पहिरोले सडक रातिदेखि नै अवरुद्ध छ ।