कास्की पहिरोः एकै परिवारका ६ सहित ११ जनाको मृत्यु, चार जना घाइते
कास्कीका तीन स्थानमा गएको पहिरोमा परि एकै परिवारका छ जना सहित ११ जनाको मृत्यु भएको छ । यसैगरी चार जना घाइते भएका छन् । पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले जानकारी दिए ।
उद्धार गर्न आएकी एक छिमेकी सहित सात जनाको मृत्यु, दुई घाइते
बिहीबार राति आएको पहिरोमा परेर पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी बस्ने कुल बहादुर परियारको घर पछाडीबाट आएको पहिरोले पुर्दा उनीसँगै परिवारका ६ जना र उद्धार गर्न आएकी एक छिमेकी सहित सात जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर, श्रीमती ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षकी आमा लक्षीमा परियार, छोरी बर्ष १५ की प्रशना परियार, चितवन घर भएकी माईत आएकी छोरी वर्ष २० की प्रभा परियार र ससुराली आएका ज्वाई प्रभाका श्रीमान् वर्ष २५ का अस्मित परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि उद्धार गर्न पुगेकी छिमेकी वर्ष ५६ की राधिका परियारको लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । पहिरोमा परि कुल बहादुरका छिमेकी तल्लाकोट टारी बस्ने वर्ष ३१ का कुमार परियार घाइते भएका छन् । पहिरो पछि उद्धारमा गएका उनको बायाँ हातमा चोट लागेको छ । उपचार पछि उनी डिस्चार्ज भएका छन् । कुमार मृतक राधिका परियारका छोरा हुन् ।
यसैगरी कुल बहादुरका छोरा वर्ष १७ का पवन परियार समेत घाइते भएका छन् । उनको ढाडमा चोट लागेकोमा अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन् ।
एकै परिवारका तीनको मृत्यु
लगातारको बर्षाको कारण शुक्रबार बिहान ०२ः१५ बजेको समयमा पोखरा ३२ चैनपुर स्थित बाह्रबिसेमा स्थानीय बर्ष ४० की आरती ओझाको घर पहिरोले पुर्दा आरतीका दुई छोरी र भतिजा एक गरि तीन जनाको मत्यु भएको छ ।
पहिरोमा परेर आरतीकी छोरी बर्ष १८ की अनिता ओझा र वर्ष ११ की अनुष्का ओझासँगै दाईको छोरा बर्ष ९ को प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।पहिरोमा परेर आरती घाइते भएकी छिन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइ रहेको छ। उनको अवस्था मध्यम रहेको छ ।
मादी गाउँपालिका वडा नं. ११ मा एककाे मृत्यु
यसैगरी कास्कीको मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्लेमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्ष ८० की माईती कुमारी गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
घरमासँगै रहेका उनका छोरा बर्ष ५५ का ओम बहादुर गुरुङलाई प्रहरी र स्थानियको सहयोगमा सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोलीसँगै स्थानीयको सहयोगमा खोज तथा उद्धारको काम भइ रहेको प्रहरीले जनाएको छ ।