कांग्रेस–एमालेमा मिल्यो भागबन्डा, मन्त्री छान्न एमाले नेताहरु बालकोटमा



नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा लगभग टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो ।

दुवै दलका नेताहरुका अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् ।




त्यस्तै वन तथा वातावरण मन्त्रालय पनि कांग्रेसको भागमा परेको बुझिएको छ ।

यता एमालेको भागमा भने अर्थसहित भौतिक पूर्वाधार तथा यातायात,सञ्चार तथा सूचना प्रविधि र शिक्षा मन्त्रालय परेका छन् ।

त्यसबाहेक शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेको भागमा परेको छ । बाँकी चार मन्त्रालय भने साना दलका लागि छुट्याइएको छ ।

साना दल जसपा, जसपा नेपाल, लोसपा, जनतम सरकारमा जाने तयारीमा छन् ।

एमालेका एक नेताका अनुसार यी मन्त्रालय भागबन्डामा दुवै दल सहमति भए पनि सरकारमा सहभागी हुने दल थपघट भएमा केही परिवर्तन हुनसक्नेछन् । योसँगै नेपाली कांग्रेस र एमालेबाट मन्त्री हुनेको सुची तयार पार्न शीर्ष नेताहरू लागि परेका छन् ।

एमाले अध्यक्ष ओली आइतबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

मन्त्री छान्न ओली निवास बालकोटमा एमाले नेताहरुबिच छलफल

नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन छलफल सुरु गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास बालकोटमा मन्त्री हुनेहरुको नाम टुंगो लगाउन छलफल भएको हो ।

छलफलमा अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी छन् ।

विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

कांग्रेसले टुंग्यायो दुई मन्त्री, परराष्ट्रमा आरजु

नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ।

गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ।

अन्य मन्त्रीको टुंगो सोमबार बिहान ८ बजे लगाउने तयारी छ।

नवनियुक्त प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारी निवासमा

आइतबार मात्रै प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठस्थित चपली पुगेका छन् ।

ओलीको निजी सचिवालयका अनुसार ओलीसहित एमालेका केही नेताहरू पनि पूर्व राष्ट्रपति भण्डारीको निवास पुगेका हुन् । भेटमा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएकी थिइन् । ओलीले पूर्व निर्धारित कार्यक्रम अनुसार नै भण्डारीलाई भेटेको बुझिएको छ ।



सम्बन्धित
Loading...