नवलपरासीमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ




परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) रामग्राम नगरपालिका वडा नं–९, मधवलियाबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

ठूलो परिमाणमा लागूऔषध लुकाइछिपाइ बिक्रीवितरण गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार रामग्राम–९, मधवलिया बस्ने ३० वर्षीय आजाद पाठकलाई निजकै घरको दुई कोठा र भान्सा घरबाट लागूऔषधसहित पक्राउ गरेको हो ।




प्रहरीले निजको घरकोठाबाट बुप्रिनोफिन ७२ एम्पुल, फेनारगन ७८ एम्पुल, डाइजेपाम ७७ एम्पुल, ओनेरेक्स १०० एमएलको ६ बोतल, नेट्राभेट–१० १०५ ट्याब्लेट, प्रोक्सिको एसपास ५१० क्याप्सुल, एसपिएम पिआरएक्सटी वक्हार्ट ७५ क्याप्सुल र एनसेलको सिमसहित इन्फिनिक्सको टच स्क्रिन मोबाइल बरामद गरेको छ । निज पाठकलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा ल्याई बुधबार लागूऔषधसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता भई जिल्ला अदालत परासीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निज पाठक यसअघि २०७६ पुस २६ गते लागूऔषधसम्बन्धी कसुरमा पक्राउ परी जिल्ला अदालत परासीको फैसला बमोजिम तीन वर्ष कैद भुक्तान गरी २०७९ पुस २६ गते कारागारबाट छुटेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार निजलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ ‘झ’ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दुई वर्षदेखि दस वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि बीस लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।



सम्बन्धित
Loading...