भारतलाई हराउँदै श्रीलंका पहिलोपटक च्याम्पियन
भारतलाई आठ विकेटले हराउँदै श्रीलंका एसिसी महिला एसिया कपको च्याम्पियन बनेको छ। आइतबार घरेलु मैदानमा भएको फाइनलमा भारतलाई हराउँदै श्रीलंका पहिलोपटक उपाधि जित्न सफल भएको हो।
सुरुवाती ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै एक सय ६६ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाउँदै जित निकालेको हो। श्रीलंकाको जितमा कप्तान चामरी अथापथ्थु र हर्सिथा समराविक्रमले ६३ बलमा ८७ रनको साझेदारी गरेका थिए।
लगातार नाैपटक एसिया कप खेलेको श्रीलंका अपराजित रहँदै पहिलोपटक च्याम्पियन बनेको हो। यसअघि भारतले ७ पटक उपाधि जित्दा श्रीलंका पाँचपटक उपविजेता भएको थियो। टोली छैटौँपटक फाइनल पुग्दा सफल बन्यो। भारत सातपटक च्याम्पियन बन्दा श्रीलंका र बंगलादेशले समान एकपटक उपाधि जितेका छन्।
श्रीलंकाको जितमा कप्तान चामरीले ४३ बलमा ९ चौका र २ छक्कासहित ६१ रन बनाइन्। अविजित रहेकी हर्सिथाले ५१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६९ रन बनाएकी हुन्। अविजित रहेकी कभिसा दिलहरिले १६ बलमा ३० रन बनाइन्। दिलहरि र हर्सिथाले तेस्रो विकेटले ४० बलमा ७३ रनको साझेदारी गरेका थिए।
यसअघि दम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतको लागि ओपनर स्मृति मन्धराले ४७ बलमा १० चौकासहित सर्वाधिक ६० रन बनाइन्। रिचा घोसले ३० र जामिमाह रोड्रिगुइजले २९ रन बनाएकी थिइन्। श्रीलंकाकी दिलहरिले सर्वाधिक दुई विकेट हात पारिन्।