नवलपुरमा सात सय ६९ किलो गाँजा सहित २ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा नवलपुर प्रहरीले सात सय ६९ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
धादिङबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले गाँजा बोक्न प्रयोग गरिएको एउटा भारतीय ट्रक, एउटा गाँजा कारोबारीले प्रयो गरेको कार, अन्दाजी १०÷१० किलो भन्दा बढी बढीको ७२ पोका गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार धादिङबाट चितवनहुँदै नवलपुर ल्याएको अवस्थामा प्रहरीले गाँजा सहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले गाँजा सहित चिवतनको राप्ती नगरपालिका वडा नं. २ निवासी ३३ बर्षीय मदन लामा र चितवनको राप्ती नगरपालिका १ निवासी दिनेश भनिने सन्तोष लामालाई पक्राउ गरेको हो ।
प्रहरीले एन एल ०१ एन ५५४४ नम्बरको भारतीय नम्बर प्लेटको ठूलो कन्टेनर सहितको ट्रक र पक्राउ परेकोहरुले भाडामा लिएर प्रयोग गरेको प्रदेश ०१–०२६ च ५१५९ नम्बरको कार पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकोहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । उनीहरुलाई आज नै नवलपुर जिल्ला अदालतमा पेश गरी ३ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रैग्मीले जनाकारी दिए । घटनामा अन्य पनि सम्लग्न रहेको आशंकमा प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
उनीहरुलाई आइतबार राति करिब २ बजेतिर इलाका प्रहरी कार्यालय रहजरको टोलीले रजहरको हमाल चोकबाट पक्राउ गरेको हो ।
चेक जाँचको क्रममा कन्टेनरको क्याविन पट्टिको भित्ता शंकास्पद देखिएपछि क्याविन काटेर चेकजाँच गर्दा कन्टेनरको क्याविन तिरको भागमा अर्को बार अर्थात फल्स बटम बनाएर गाँजा लुकाएर ल्याएको भेटिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
पक्राउ परेका दुई जना गाँजा लुटेर भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ट्रक धनि सम्पर्कमा आएपछि मात्र यस बारेमा थप खुल्ने प्रहरीले जनाएको छ ।
उक्त कन्टेर विहीबार दिउँसोदेखि चोरमारामा रहेको र मदन लामा र दिनेश लामाले कार लिएर मुग्लिङदेखि नारायणघाट, हेटौंडा र विरगंजसम्म उक्त कन्टेनर खोज्दै हिडेको उनिहरुले प्रयोग गरेको कारको जिपिएसले देखाएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
उक्त गाँजा बोकेको कन्टेनरको वास्तविक चालक चोरमारामा छोडेर भागे पछि खोज्ने क्रममा उक्त गाँजा बोकेको कन्टेनर सन्तोष र मदनले लिएर चितवन तर्फ जाँदै गर्दा उनिहरुलाई प्रहरीले देवचुलीको हमाल चोक बाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्दा कन्टेनर मदन लामाले चलाउदै गरेका थिए भने कारका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
गाँजा कहाँबाट कसरी आयो र यसमा संलग्न व्यक्तिहरूको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ठूलो मात्रामा लागूऔषध फेला परेपछि यसमा ठूलै गिरोहका संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । उपरीक्षक रेग्मीका अनुसार कन्टेनरका वास्तविक चालक र कारका चालकको खोजी भैरहेको छ भने पक्राउ परेका दुई जनालाई नवलपुर जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाईएको छ ।