नवलपुरमा डेङ्गुबाट २४ जना संक्रमित, १ जनाको निधन

नवलपुर । नवलपुरमा डेंङ्गुबाट संक्रमित भएर १ जनाको निधन भएको छ भने २४ जना विरामी परेका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरका विनयी त्रिवेणी गाउँपालिका ७ निवासी ६४ बर्षीय पुरुषको निधन भएको हो । बुटवल अस्पतालमा उनको उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन डिल्लीराम तिवारीले बताए ।
तिवारीका अनुसार नवलपुरमा असारको दोस्रो सातादेखि हालसम्म नवलपुरमा डेंङ्गुबाट २४ जना संक्रमित भएका छन् । ति मध्ये १३ जना पुरुष र ११ जना महिला छन् ।
उनका अनुसार अहिलेसम्म नवलपुरको हुप्सेकोटमा ८ जना, विनयी त्रिवेणीमा ७ जना, गैडाकोटमा ४ जना, देवचुलीमा ३ जना, मध्यविन्दु र बुलिङटारमा १÷१ जनामा डेंङ्गु संक्रमण देखिएको छ ।
नवलपुरबाट अधिकांश विरामीहरु चितवन लगायत जिल्ला बहिर समेत परीक्षणका लागि जाने र जिल्ला भित्रका पोलिक्लिनिक लगायतका निजी अस्पतालको रेकर्ड प्राप्त हुन नसकेकोले नवलपुरमा संक्रमितको संख्या बढी हुन सक्ने तिवारीले बताए ।
यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ ।
यसैबीच स्वास्थ्य कार्यालय नवलपुरले घरघरमा लामखुट्टे हुर्कन सक्ने भएकोले नियमित पानी जम्न नदिन र सरसफाईमा ध्यान दिन आग्रह गरेको छ ।
