आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार, मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मर्स्याङ्दी नदीमा खसेको हो । तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायका बसमा भारतीय यात्रु सवार थिए । यात्रुको संख्या भने यकिन हुन सकेको छैन ।
अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घटनास्थलमा यात्रुको उद्धार गरिरहेको छ । यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घटनास्थलमा परिचालन गरिनुका साथै उनीहरूलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
अप्ठ्यारो भिर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको उनले बताए । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । बसमा झन्डै ४० भारतीय यात्रु सवार रहेको बताइएको छ ।
मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए ।
उनका अनुसार मेडिकल टिमसहितको टोली पठाइएको छ । गभीर घाइतेहरुलाई हेलिकप्टरमाफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने उनले बताए ।
शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ ।