बस दुर्घटनामा २७ भारतीय पर्यटकको मृत्यु, भरतपुरमा पोस्टमर्टम सुरू
पोखरा । भारतबाट नेपाल घुम्न आएका भारतीय पर्यटक शुक्रबार तनहुँमा भएको बस दुर्घटनाको सिकार भएका छन् । बसमा चालकदलका दुईसहित ४३ यात्रुमध्ये दुर्घटनामा २७ जनाको ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
सडकदेखि करिब डेढ सय मिटर तल खसेर मस्र्याङ्दीमा आधा भाग डुबेको छ
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा २७ जनाको ज्यान गएकामा १६ जना घाइतेलाई उपचारार्थ काठमाडौं लगिएको छ । २६ जनाको आँबुखैरेनीमै र एक जनाको भरतपुर अस्पतालमा उपचारक्रममा मृत्यु भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनका अनुसार मृतकको शुक्रबार रातिसम्म सनाखत हुन सकेको छैन । शव पोस्टमार्टमका लागि पोखरा पठाउने तयारी भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा पोस्टमार्टमपछि आफन्तलाई शव बुझाइने तनहुँ प्रहरीले जनायो । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान ११ बजेर २० मिनेटमा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरानजिक दुर्घटना भएको हो ।
बस सडकदेखि करिब डेढ सय मिटरतल खसेर मस्र्याङ्दी नदीमा आधा भाग डुबेको अवस्थामा छ । अतुल केशरवाणी सञ्चालक रहेको केशरवानी परिवहन ट्राभल्सको बस गत ४ भदौमा सुनौली बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । नेपाल घुम्नका लागि दुईवटा बसमा भारतीय पर्यटक आएका थिए । उनीहरू पोखरा–१७ ड्यामसाइडस्थित होटल स्पोर्ट्समा बास बसेका थिए । दुर्भाग्यवश, शुक्रबार पोखराबाट काठमाडौं जानेक्रममा बस मस्र्याङ्दी नदीकिनारमा कच्याककुचुक हुनेगरी दुर्घटना भएको हो ।
दुर्घटनास्थल निकै अप्ठेरो र भिरालो भएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी दीपककुमार रायले बताए । उनका अनुसार डोरीको सहयोगमा उद्धार टोली घटनास्थल पुगेर बसमा च्यापिएकालाई उद्धार गरेको थियो । उद्धारमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट १० जना गोताखोरसहित ४५ जना र तनहुँको भानुस्थित २३ नम्बर मनकामना गणबाट ३५ जनाको टोली परिचालन भएको २३ नम्बर मनकामना गण, भानुका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्ण अधिकारीले बताए । दुर्घटनाको खबरपछि भारतीय दूतावासका प्रतिनिधि दुर्घटनास्थल
आएका छन् ।
दुर्घटनाको खास कारण खुलेको छैन । बिहानैदेखि सिमसिम पानी परेको र बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
बसमा सवार हुनेहरूमा अनन्त ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चन्दना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकाश कोखी, रेखा कोखी, सन्दीप सरोडे, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे रहेको खुलेको छ ।
यस्तै, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पान्डुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादेलगायत सवार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनायो ।
गत महिना मात्रै चितवनको सिमलताल बस दुर्घटनामा दुई बस पहिरोले बगाउँदा ६२ मध्ये तीन जना पौडिएर बाहिर निस्केका थिए । २४ जनाको शव फेला परेकामा अन्य यात्रु भेटिएनन् । बसको भग्नावशेषसमेत फेला परेन । यसबेला गाडी दुर्घटना र हवाई दुर्घटनाका खबरले पर्यटनको राजधानी पोखरालाई नराम्ररी असर परेकामा पर्यटन व्यवसायी भने चिन्तित छन् ।
यसैबीच पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरू गरिएको छ।
आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरू गरिएको हो।