नवलपुरमा डेंगु संक्रमितको यकिन तथ्यांक पाउनै मुस्किल




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको छिमेकी जिल्ला चितवन र तनहुँमा अहिले डेंगु रोगका संक्रमतिहरु अत्यधिक फेला परेका छन् तर नवलपुरमा भने यकिन तथ्यांक पाउनै मुस्किल हुने गरेको छ ।

 

नवलपुरमा विरामीहरु चेकअफका लागि चितवनको नारायणगढ भरतपुर वा रुपन्देही बुटवल भैरहवातर्फ बढी जाने भएकोले नवलपुरमा डेंगु रोगका विरामीहरुको यकिन तथ्यांक आउन नसकेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

 




स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख एवम् जनस्वास्थ्य अधिकृत शैलेन्द्रकुमार सिंहका अनुसार गैडाकोटदेखि दुम्किबाससम्मका केही बासिन्दाहरु चितवनतर्फ र विनयी त्रिवेणीको त्रिवेणी क्षेत्रका बासिन्दाहरु रुपन्देहीको बुटवलतर्फ चेकजाँजका लागि जाने तर रुपन्देही, चितवनका स्वास्थ्य कार्यालयहरुले यताका संक्रमितहरुको यकिन ठेगाना सहित विवरण नपठाउँदा समस्या हुने गरेको हो ।

 

गण्डकी प्रदेशको तनहु, गोर्खा र कास्कीको तुलनामा नवलुरमा डेंगुका संक्रमितहरु कम भए पनि यकिन तथ्यांक संकलन गर्न समस्या भएको स्वास्थ्य कार्यायल नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभयो ।

 

स्वास्थ्य कार्यालय नवलपुरसँग भएको तथ्यांक अनुसार अहिलेसम्म नवलपुरमा असार १५ गते यता ३० जना मात्र डेंगु रोगका संक्रमित रहेको तथ्यांक रहेको छ । तर यो तथ्यांक भन्दा बढी डुंगु रोगका संक्रमित नवलपुरमा रहेको स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन डिल्लीराम तिवारीको ठम्याई छ ।

 

नवलपुरमा यस बर्ष डेंगुका कारण १ जनाले ज्यान गुमाइसकेको छ । ३० जना संक्रमित मध्ये अहिले ५ जना डेंगुरोगका संक्रमितहरु अस्पतालमा उपचार रहेको तिवारीले बताउनुभयो ।

 

नवलपुर जिल्लामा जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीहरुसम्म निशुल्क रुपमा डेंगु परीक्षण गर्न सकिन्छ । भने प्राइभेट अस्पतालहरुमा पनि डेंगु परिक्षण हुने गरेको छ ।

 

यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको छ । यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने गरेको हो ।

 

डेङ्गी रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्ने छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्छ ।

 

यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने गर्दछ ।

डेङ्गीबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो ।



सम्बन्धित
Loading...