चाडपर्व नजिकियोः नारायणगढ बुटवल सडकको अवस्था भने दुर्वस्था
कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको अवस्था भने दिनानुदिन बिजोग हुदैँ गएको छ ।
मर्मत र स्तरोन्नतिका निम्ति गैँडाकोटदेखि बुटवलसम्मको सडक भत्काईएको ६ वर्ष सम्म पनि काम सम्पन्न नहुदाँ यस पटकको चाडपर्वमा यो सडक भएर यात्रा गर्ने यात्रुले निकै सास्ती भोग्नु पर्ने देखिएको छ ।
सरकारी तथ्यांक अनुसार गत वर्ष दशैँ तिहारमा यो बाटो भएर १० लाख बढि यात्रुले यात्रा गरेका थिए ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेको उक्त सडक निर्माणको ठेक्का चिनको सरकारी कम्पनी चाईना स्टेट ईन्जिनियरिङ करपोरेसनले लिएको छ । तर, ६ वर्षदेखि सडक अलपत्र हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । यो आयोजनामा हालसम्म पटक पटक गरेर तीनपटक म्याद थपिएको भए पनि सडकको भौतिक प्रगति ५२ प्रतिशत मात्रै रहेको छ । गत साउनमा मात्र एक वर्षका निम्ति म्याद थप गरिएको भए पनि निमार्ण कम्पनीले काम गर्ने गति भने निक्कै सुस्त रहेको छ ।
गत आईतबार मन्त्रालयका सचिव र विभागीय प्रमुख सहित सडक आयोजना अनुगमन गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थपिएको समयमा पनि काम नसकिए निर्माण कम्पनीसँगको ठेक्का तोड्ने चेतावनी दिनुभएको थियो ।
कुल ११३ किलोमिटर लामो सडक मा ७० किलोमिटर चार लेन र २९ किलोमिटर दुवैतर्फ ६–६ मिटर सर्भिस लेन हुने गरि निर्माण भइरहेको छ । दाउन्नेको १४ किलोमिटर भने तीन लेनको सडक हुनेछ ।
निर्माण कम्पनीले थप दुई अर्ब रुपैयाँ दाबी गर्दै काम ठप्प पारेपछि सरकारले ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदार कम्पनीले यो सडकमार्गमा आफूलाई सात अर्ब घाटा भइसकेको र पैसा नभएको भन्दै काम ठप्प पारेको थियो ।
सरकार र स्थानीयले दबाब बढाउदै गए पछि अहिले निमार्ण कम्पनीले पूर्वी खण्डको गैँडाकोट बजार क्षेत्रमा करिब २ किलामिटर कालो पत्रे गरेको छ भने बेस तयार भएका चोरमारा र अरुणखोला क्षेत्रमा काम सुरु गर्ने जनाएको छ ।
उक्त कम्पनीसँग सम्झौतामा ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ उल्लेख छ । लागतको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी) को ऋण र १५ प्रतिशत सरकारको लगानीमा सडक विस्तार भइरहेको हो । एडीबीले १ दशमलब ५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको थियो ।