बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइतेको अवस्था गम्भीर छ ।
नरेठाँटी प्रहरी चौकीका अनुसार रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
शव भिरमा अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान पनि खुलेको छैन । एक जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले तीन जनाको मृत्यु भएको पुष्टि गरे । उक्त गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन । त्यसैले नेपाली सेना र सशस्त्र प्रहरीको टोली खोज तथा उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको उनले बताए ।
बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको सरकारी गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । उक्त गाडीमा जनप्रतिनिधि र कर्मचारीहरु सवार थिए ।
दुर्घटनास्थलमा पुथा उत्तरगङ्गा गाउँपालिका तकसेरा, रुकुम पूर्वकी उपाध्यक्षको परिचय पत्र भेटिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।