थारु महिला जितियामा ३६ घण्टा बर्त बसेर मनाउँदै


 



तराईका मैथिल, आदिबासी थारू समुदायका महिलाहरुले जितिया मनाएका छन् । उदयपुर लगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका मैथिल, थारु महिलाहरुले मंगलवारबाट जितियाको शुरुवात भएको हो ।

आफ्नो सन्तानको दीर्घायु, सुख समृद्घि र मनोकामना पूर्ण गराउन जितियाको ब्रत लिँदै आएका उनीहरुसँगै यस वर्ष नयाँ विबाहिता महिलाले समेत जितिया मनाएको थारु पण्डित बासुदेव चौधरीले बताए । उनले भने, ‘थारू समुदायको महान् पर्व हो, जितिया । महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुख समृद्घि र मनोकामना पूर्ण गराउन जितियाको ब्रत लिन्छन् । थारू समुदायमा जब मान्छे मर्नबाट संजोगबश जोगिन्छ तब भनिन्छ, ‘तिम्री आमाले जितिया ब्रत लिएकी हुनाले तिमी बाँच्यौ ।



जितिया पूर्वको तराईका जिल्लामा मनाउने पर्व भएकाले पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ । हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण प्रतिपदा सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । विशेषत माइत घर छोडी ससुराली घरमा गएका नव विवाहित र विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख, सुःखको भलाकुसारी गर्ने दिनको रुपमा पनि थारु समुदायमा यस पर्वलाई लिईन्छ । दाजुभाई र दिदि बहिनीको माया, प्रेम तथा स्नेहको प्रतिकको रुपमा लिइने यो पर्व थारु समुदायको महत्वपूर्ण चाड मध्येको प्रमुख हो । यस पर्वमा दाजुभाईले दिदी बहिनीहरुलाई माइतमा बोलाई मिठो मिठो खानेकुरा खुवाई ससुराली पठाउने गर्दछ । दाजुभाईले ससुरालीबाट माईती आएका दिदी बहिनीलाई एक जोर कपडा फेरीदिने पनि चलन रहेको छ ।

किवदन्ती अनुसार ‘जितिया पावैन बड भारी, धियापुता केँ ठोकि सुताई अपने खाइ भैर थारी’ थारु भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय रहेको छ । यसको अर्थ जितिया पर्व गर्न एकदमै गा¥हो छ, बाल बच्चाहरुलाई सुताएर ब्रतालुले थाल भरि खान्छिन । जितिया पर्वसंग जोडिएको यो कथनबाट दुईटा भाव आउँछ एउटा यो पर्व एक दमै गा¥हो पनि छ र अर्को ब्रतालुले थाल भरि खान्छिन, दुई खाले भाव झल्काउने यो कथनको जितिया पर्वसंग ठूलै सम्बन्ध रहेको छ । जितिया पर्वको ’boutमा भबिष्य पुराणमा बर्णन पाईन्छ ।

आश्विन कृष्ण अष्टमी तिथिमा ब्रत सुरु गर्नु पर्ने, कुशको मूर्ति बनाएर जितवाहनको पूजा गर्नु पर्ने हुन्छ । सो क्रममा कुशको मूर्ति कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पाकरीको रुखको हाँगा गाँड्नु पर्दछ । त्यसपछि, हाँगा माथि चिलको आकृति र सोको मुनि एउटा स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगौचर सही हुने र अकाल मृत्युबाट जोगिन्छ भनेर थारु पण्डित बासुदेव चौधरीले बताउँछन । थारु महिलाहरुले आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी थारु महिलाले यो पर्व मनाउने गरिन्छ ।

असोज कृष्ण प्रतिपदा पक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइने यो पर्व सप्तमीको दिन नहाय खाएर यो पर्व सुरु हुने थारु कल्याणकारिणी सभा उदयपुरका अध्यक्ष देवनारायण चौधरीले बताए । मंगलवार नहाय खाने दिन बर्तालु महिलाहरुले बिहानै स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर ब्रर्तको शुरुवात गरेको थियो । थारु समुदायमा यो पर्वको अत्यधिक महत्व छ । अति नियमनिष्ठाका साथ मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूलाई पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जिमूतवाहन देउताको ब्रतको सङ्कल्प गर्नु पर्ने हुन्छ । यस विषयमा महादेवले जिमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराउनु भएको सो पुराणमा उल्लेख गरिएको छ । यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा बर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

पर्वको दोश्रो दिन अर्थात अष्टमीका दिन (बुधवार) बर्तालु महिला ३६ घण्टा लामो निराहार उपवास बस्नेछन् । उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ । यस पर्वको अबसरमा उदयपुरको त्रियुगा नगरपालिका– ४ बगाहा सालघारीमा, त्रियुगा नगरपालिका– ६ देउरी र त्रियुगा नगरपालिका– १२ बिसनपुर त्रिवेणी लगायत ठाउँ–ठाउँमा भव्य जितिया महोत्सव गरिदै आएको छ । पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन बर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई सो पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घय दिएर पर्वको समापन गर्ने गरिन्छ ।

त्यसैगरी मैथिल र थारू समुदायका महिलाको महान् लोकपर्व जितियाको ब्रतार्थीले मंगलवार नहाय खाय र तेलखरी विधि गरिरहेका छन् । सो विधि अन्तर्गत ब्रतार्थीहरू जलाशय स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना (खरी) चढाएर जिमूतवाहन देवताको पूजा गर्दछन, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसाद स्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् । मंगलवारकै दिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने गर्दछन् , जसलाई माछमरूवा भनिन्छ ।

शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खने चलन छ । नहाय खाय र तेलखरि विधिमा घिरौलाको पातमा नैवेद्य चढाइने गरिन्छ । नैवेद्यमा गहुँको पिठो र गुड (सक्करं) मिसाएर पकाइएको पकवान, चामल, दाल, दही, च्यूरा, खीर, रोटी, दूध, चीनी जस्ता वस्तुहरू कुलवंश, रीति र परम्परा अनुसार चढाइने गरिन्छ । नैवेद्यमा पान, सुपारी, काँक्रो, केराउ (अँकुरी) र अक्षता (चामल) पनि चढाइने गरिन्छ । यसमा चिल र स्यालका भागहरू राखिन्छन् । यसका साथै दिवङ्गता महिला पितृ वर्गका लागि नैवेद्यका भागहरू राखिने चलन छ ।

सोही तिथिको रातिको अन्तिम पहरमा व्रतार्थी दही, च्यूरा, फल, मिष्ठान आदि खाने गर्दछन, जसलाई ‘ओठङ्न’ भनिन्छ । यसरी खाइसकेपछि ब्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ ।

नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमूतवाहनलाई नैवेद्य अपर्ण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी ब्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ । पहाडी समुदायका महिलाले दर खाने झैँ मैथिल महिलाले ओठङ्न विधि गर्दछन् । जितिया पर्व मैथिल संस्कृततिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमूतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन छ । जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफनो सन्तानको आयु बृद्धि हुने जनविश्वास रहेको छ ।



सम्बन्धित
Loading...