सुस्ताबासीलाई नागरिकता दिन र जोतभोगको आधारमा लालपूर्जा दिन सरकार तयार छः राष्ट्रपति पौडेल
नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्ताबासीले नेपाल नागरिकता पाउने र सुस्ताबासीले जोतभोग गर्दै आइरहेको जग्गाको लालपूर्जा पाउने बताएका छन् । विहीबार पश्चिम नवलपरासीको सुस्ता जोड्ने झलुङ्गे पुलको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले सुस्तामा झोलुङ्गे पुलको निर्माणले सुस्ताबासीलाई मात्र नभएर सरकारलाई पनि खुसी मिलेको बताउँदै सुस्ताबासीलाई उत्पादनसँग जोडेर काम गर्न आग्रह समेत गरे ।
पुल निर्माण पछि सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने बस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले भने – उत्पादनमा जोडेर काम गर्नुहोस् यहाँ झोलुङ्गे पुल मात्रै होइन सरकारले छिट्टै मोटरपुल पनि बनाउने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुस्ताको झोलुङ्गे पुलको रिबन काटेर विधिवत रुपमा उद्घाटन गरेका हुन् ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ को सकरदिनही र सुस्ता भुमी जोडने गरि नारायणी नदीमा निर्माण भएको झोलुङ्गे पुलको निर्माण पछि स्थानीयमा खुसीयाली छाएको छ । पुल निर्माण पछि यहाँका बासिन्दालाई नजिकको बजार गर्न वा अध्ययन गर्न भारत जानु पर्ने बाध्यता हटेको छ ।
राष्ट्रपति पौडेलले सुस्ता क्षेत्रमा हालै छोडिएको एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति समेत शुरु गरेका थिए । सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको थियो । कार्यक्रम कार्यबाहक प्रधानमन्त्री प्रकाश मान सिंहको अध्यक्षतामा भएको हो ।
राष्ट्रपति पौडेलले पुल निर्माण पछि अब सुस्तताबासीलाई जोखिम पुर्ण डुङ्गा यात्राको अन्त्य भएको धारणा व्यक्त गरे । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोबास छ । यो पुल बन्नुअघि स्थानीयहरू डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थियो । वर्षायाममा उच्च बहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो ।
एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो । यो पुल बनेपछि सुस्ताबासी खुशी हुदै यस सुस्तामा उत्पादन हुने उखु र केरा बजारको पहुँचमा सहजता हुने स्थानीयहरूले बताएका छन् । सुस्तालाई भारतीय भूमिले तीन तर्फबाट र एकतर्फ नारायणी नदीले घेरेको छ ।
यहाँका बासिन्दा पुल नहुँदा आफ्नै पालिकाबाट प्रवाह हुने सेवा लिन र वाड कार्यालय जान पनि डुंगामा नारायणी नदी तरेर जानु पर्ने बाध्यता रहेको थियो ।
राष्टपति पौडेलले अहिले सुस्ताबासीहरुलाई हिडडुल गर्न केही सहज होस भनेर नेपाल सरकारले आर्थिक अभावको कारणले अहिले झुलेङ्गे पुल निर्माण गरिदिएको र आर्थिक सवल भयो भने मोटर गाडीहरु चल्ने पुलको केही बर्ष पछि सुस्ताबासीहरुले उपहार स्वरुप पाउने आश्वासन दिएका थिए ।
नारायाणी नदीमा पुल नहुदाँ सुस्ताबासी ढुङ्गमा तरेर कष्ठपूर्ण यात्रा गरेर गाउँपालिका वा परासी आउने गरेको तर झोलुङ्ग पुन संचालनमा आएपछि आवात जवात गर्न धेरै सहज भएको सुस्ताबासीहरुले बताएका छन ।
नारायाणी नदी झोलुङ्ग पुल संचालनमा आएपछि भारतीय पक्षबाट पटक पटक अतिक्रमणको चपेटा परेको सुस्ताबासी समान्य कामको लागि पनि भारतको भर पर्न अवस्थाको अन्त्य भएको सुस्ता बचाउ अभियान कार्यबहाक अध्यक्ष एव वडान ५ का वडा सदस्य आम खानले बताए ।
उनले भने पुल नहुदाँ हामी भारतीय बाटो एसएबसीको गाली खाएर पनि आवत जावत गर्न बाध्यता रहेको थियो तर पुल निमार्ण भई संचालनमा आएपछि धेरै ठूलो राहत महसुस भएको छ । खाँले डुङ्गामा कष्ठपूर्ण यात्रा गर्न बाध्य सुस्ताबासीहरुको कष्ठपूर्ण यात्राको अन्त्य भएको बताए ।
पहिला नारायाणी नदीमा पुल नहुदाँ परासी गाउँपालिका र बर्दघाट काम जादाँ एक रात उतै बस्ने पर्ने अवस्था रहेको तर नारायाणी नदी झोलुङ्ग पुल संचालनमा आएपछि सदरमुकाम परासीमा जाँदा दिननै विताएर जानु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय जयनारायण शाहले बताए ।
सुस्ताको प्रमुख नगदी बालीको रुपमा उखुखेती हो । यहाँका बासिन्दाले उखु विक्री गर्नका लागि पनि भारतका चिनी मिलमा वा नारायणी नदी कटाएर नेपालका चिनी मिल तथा भेली मिलमा उँखु बेच्न बाध्य हुनु पर्दथ्यो । नारायणीमा झलुंगे पुल बनेसँगै धेरै थोरै सामग्रीहरु पुलबाट सोझै वारपार गराउन सक्ने अवस्था सिर्जना भएकोले यहाँको बासिन्दाको जीविकोपार्जनमा पनि प्रभाव पार्ने शाहले बताए ।
त्यसैगरी नारायाणी नदी पुल नहुदाँ भारतका विद्यालयमा पढ्न जान बाध्य भएका विद्यार्थीहरु अब नेपालकै विद्यालयमा पढ्न सहज भएको छ । सुस्तामा कक्षा ५ सम्म मात्र पठनपाठन हुने एउटा आधारभूत विद्यालय रहेको छ ।
बर्षाको समयमा नारायणी नदीमा पानीको बहाब बढेको बेला आफ्नै भूमिमा आउन पनि भारतीय बाटो प्रयोग गरेर हिड्नु पर्ने प्रमुख समस्याको अन्त्य भएको र अब भारतीय हेपाहा प्रवृत्तिबाट जुध्न सजिलो भएको सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष खाँले बताए । उनले यसलाईृ सुस्ता बासीले ठूलो जितको रुपमा हेरेको समेत जानकारी गराए ।
सुस्तामा पुल बनेपछि सुस्ताबासीको जीनवस्तरमा सहज हुने मात्र नभई सुस्ता गाउँलाई पर्यटकीय स्थल रुपमा पनि विकास गर्न सकिने सुस्ताबासीले विश्वास लिएका छन् ।