झ्याप्ले खोलामा खुल्यो दुईतर्फी सडक



धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार साढे सात बजेबाट यहाँ दुई तर्फी बाटो खुला भएको हो।




धुनीबेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो। हालसम्म ३५ जनाको शव फेला परेको छ।

पुरिएका चारै वटा गाडीको नम्बर खुलेको सहप्रवक्ता थापाले जानकारी दिए।


उनका अनुसार बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप पहिरोमा पुरिएको थियो।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो।

त्यस्तै गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस र बा १ प १३८८ नम्बरको बसमा क्षति पुगेको थियो।

विंगर जिपमा सवार ८ जना पुरूष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरू पहिरोमा पुरिएका थिए।

पहिरोमा पुरिएकाहरुको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ।

उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबाराही गण काठमाडौंबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले तीन वटा जेसिबीको सहायताले पहिरो पन्छाएर खोजी तथा उद्धार कार्य गरिरहेको छ।



सम्बन्धित
Loading...