दशैंमा दाउन्ने सडक कष्टकर बन्दै





नवलपरासी । दशै तिहारको मुखैमा पटक–पटक सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड निक्कै अनिश्चित र कष्टकर बनिरहेको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्ने खुर्सानी खोलाको सडक चार दिनअघि भासिएको थियो । एक दिन एक रात पूर्ण रुपमा सवारी आवागमन बन्द गरेर मर्मत गरिएको सडक शुक्रबार रातीदेखि पुनः भासिएर अवरुद्ध बनेको हो ।


हिजो रातीदेखि २० फिट लम्बाई र पाँच फिट गहिराईमा सडक भासिएर अवरुद्ध भएको सडक रातभरी मर्मत गरेर बिहानदेखि एकतर्फी सञ्चालन गरिए पनि सडक अनिश्चित बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताए ।

‘जहाँ भासिन्छ त्यही मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको छ, तर सडक भासिने क्रम नरोकिएकाले पूर्ण रुपमा सञ्चालनमा ल्याउन समस्या भइरहेको छ, प्रहरी नायव उपरीक्षक बोहोराले भने, ‘एकैछिन खुल्छ, फेरी उतिबेलै भासिएर पूर्ण रुपमा अवरुद्ध हुन्छ ।’ माटोको बेश भएकाले सडकको बेश बलियो नभएको उनको भनाइ छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निरन्तर सडक भासिइरहँदा पनि डाइभर्सन गर्ने ठाउँ नभएकाले समस्या भएको बताइन् । सडकको अनुगमनका लागि घटनास्थलमै रहनु भएकी प्रजिअ श्रेष्ठले भनिन्, ‘अहिले बाटो एकतर्फी सञ्चालन भएको छ, तर डाईभर्सन गर्ने ठाउँ पनि छैन, जतिबेला जे पनि हुन सक्छ ।’ उनले यो बाटोका कारण धेरै यात्रुले दुःख पाएको बताउँदै भनिन्, ‘बाटोको अवस्था ठिक छैन, दुःख कष्ट सहन सक्नेले यात्रा गर्दा हुन्छ, सहन नसक्नेले यात्रा नगर्दा नै ठिक हुन्छ ।’ प्रहरी नायव उपरीक्षक बोहोराले पनि दशै तिहारमा यात्रुको चाप बढी हुने भएकाले पनि थप समस्या पर्ने गरेको बताए ।

‘चार्डवार्डको मुखैमा यात्रा नगर्नुस् भन्न पनि गाह्रो छ, बोहोराले भने, ‘सडकको हालत हेर्दा सुखले यात्रा गर्न सकिने अवस्था पनि छैन ।’ भासिएको सडक मर्मतका लागि सडक विभाग र चाइना स्टेट इन्जिनियरिङ कपोरेशन प्रालिको टोली खटिइरहेको छ ।

असोज ११ र १२ गते परेको निरन्तरको वर्षपछि असोज १४ गते यही सडक भासिएपनि होङ्सी सिमेन्टमा जाने एक सय ३२ केभी प्रशारण लाइनको टावर भत्किदा नेपाल विद्युत प्राधिकरणलाई ठूलो क्षति पुगेको थियो ।



सम्बन्धित
Loading...