नवलपुरमा प्रहरी दिवसमा विविध कार्यक्रम


नवलपुर । ६९ औं प्रहरी स्थापना दिवस आज नवलपुर सहित देश भर विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालय नवलपुरको आयोजनामा भएको कार्यक्रममा अमर प्रहरी परिवार, जेष्ठ भूपू प्रहरी, विभिन्न खेलकुद प्रतियोगितामा भएका विजयीहरु लगायतलाई सम्मान गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले सीमित जनशक्तिका बाबजुत पनि शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रण, कानुन कार्यान्वयन लगायत जिम्मेवारीका विविध क्षेत्रहरुमा प्रहरी सङ्गठनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रविधिमा आएको विकास, सीमापार अपराधको प्रवृत्तिमा आउने परिवर्तन, बढ्दो आप्रवासनले शान्ति सुरक्षामा थप चुनौती सिर्जना गर्न सक्नेप्रति सजग रहन समेत उहाँले प्रहरी संगठनलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले पहुँच नहुनेहरुले न्याय पाउने पहिलो स्थान नै प्रहरी कार्यालय भएकाले जनताको मन जितेको बताए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक जेशी शाहले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा पूर्व प्रहरीका तर्फबाट पूर्व प्रहरी नायव निरीक्षक तिलकराम देवकोटा, अमर प्रहरी परिवारका तर्फबाट अमृता सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डा र कावासोतीको योङ्ग स्टार युवा क्लव लगायत विभिन्न समयमा सहयोग गर्ने सहयोगी संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अमर सहिद स्तम्भमा माल्यार्पण समेत गरिएको थियो ।

 

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले प्रहरीले विभिन्न क्षेत्रमा खेलको योगदानको चर्चा गर्दै नेपाल प्रहरीको इतिहात गौरवमय रहेको उल्लेख गरे ।

प्रहरी निरीक्षक सुदिप भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, पूर्व प्रहरी, अमर प्रहरीका परिवार, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

 



सम्बन्धित
Loading...