आजदेखि साफ महिला च्याम्पियनसिप : उपाधिमा दाबी सबैको





साफ महिला च्याम्पियनसिप बिहीबारबाट दशरथ रंगशालामा सुरु हुँदै छ । सहभागी सातै देशका प्रशिक्षक र कप्तानले विगत बिर्सेर उपाधि जित्न खेल्ने बताएका छन् । सहभागी टोलीले तयारी राम्रो भएको बताउँदै उपाधि जित्न आइपुगेको बताएका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)द्वारा आयोजित प्रतियोगिता १४ कात्तिकमा सम्पन्न हुनेछ ।

उद्घाटन खेलमा पाकिस्तान र सर्वाधिक पाँचपटकको विजेता भारत भिड्नेछन् । नेपालले २ कात्तिकमा भुटानसँग पहिलो खेल खेल्नेछ । दुई वर्षअघि दशरथ रंगशालामा प्रतियोगिता हुँदा नेपाल उपविजेता भएको थियो ।


सेमिफाइनलमा भारतलाई १–० ले हराए पनि नेपाल फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भयो । सातौँ संस्करणको समूह ‘ए’मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । समूह ‘बी’मा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् ।

सर्वाधिक पाँचपटक उपाधि जितेको भारतका प्रशिक्षक सन्तोष कश्यपले उपाधि जित्न खेल्ने बताए । ‘प्रतियोगितामा भारतसँगै नेपाल, बंगलादेश र पाकिस्तान बलिया छन् । हामी विगतलाई बिर्सेर उपाधि जित्न खेल्नेछौँ,’ उनले भने । दुई वर्षअघि नेपालमै भएको प्रतियोगितामा भारत सेमिफाइनलबाटै बाहिरिएको थियो । उनले पहिलोपटक भारतीय महिला टिम हेर्दै छन् ।

रश्मिकुमारी घिसिङको निर्णायक गोलमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित निकालेको थियो । रश्मिको गोलपछि भारत पहिलोपटक फाइनल पुग्न चुकेको थियो । पहिलोपटक फाइनलमा नयाँ प्रतिद्वन्द्वी पाएको नेपाल बंगलादेशसँग ३–१ ले पराजित हुँदा उपाधिबाट छैटौँपटक टाढा रह्यो ।

नेपाली कप्तान अन्जिला तुम्बाप्पो सुब्बा तयारी पूरा भएको र विगतको नतिजा बिर्सेर घरमै उपाधि जित्न खेल्ने बताउँछिन् । ‘पछिल्लोपटक फाइनलमा पराजित भयौँ । यसपटक त्यसलाई बिर्सेर खेल्नुपर्छ । टोलीमा अधिकांश खेलाडी अनुवभी छौँ । अनुभव प्रयोग गरी मिहिनेत गर्नेछौँ ।’

नेपालले पाँचपटक फाइनल खेलेको छ, तर उपाधि जित्न सकेको छैन । नेपाल चारपटक भारतसँग फाइनलमा पराजित भएको थियो । बंगलादेशका प्रशिक्षक पिटर जेम्स बटलरले अघिल्लो उपाधि इतिहास भइसकेको बताउँदै नयाँ सुरुवात गर्ने बताए ।

उनले टोलीमा युवा खेलाडीको बाहुल्यता भएको बताए । ‘टोली राम्रो छ । युवा र अनुभवी खेलाडीको मिश्रण छ,’ उनले भने, ‘अघिल्लो संस्करण उपाधि जितेका केही खेलाडी छैनन् । यद्यपि, भएका खेलाडी उपाधि जित्न तत्पर छन् । टोली यसपालि पनि उपाधि जित्न तयार छ ।’



सम्बन्धित
Loading...