सहकारी ठगी आरोपमा रवि पक्राउ





काठमाडौँ । तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।


समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।

ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन गरिएको प्रतिवेदनमा खुलाइएको छ ।

सहकारीमार्फत सीधै लामिछानेले रकम अपचलन नगरे पनि जिबीले नै नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्कमा उनी र पूर्वडिआइजी छविलाल जोशीको समेत संलग्नता देखिएपछि समितिले उनीहरू दुवै जनालाई कारबाही सिफारिस गरेको थियो ।

जोशीलाई प्रहरीले गएको असोज ६ गते नै पक्राउ गरिसकिएको छ । जोशी कास्की प्रहरीको थुनामा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले सडकमार्ग हुँदै पोखरा लाने भएको छ। पार्टीका सहप्रवक्ता मनीष झाले सडकमार्ग हुँदै पोखरा जाने जानकारी दिए।

उनले भने, ‘अहिले केहीबेरमै राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टी सभापति रवि लामिछानेज्यूले उपस्थित पार्टी सदस्य तथा सञ्चारकर्मी माझ आफ्नो कुरा राखेर सडकमार्ग हुँदै पोखरा जानुहुनेछ।’

सभापति लामिछानेको पक्राउमा अवरोध नगर्न आग्रह गर्दै झाले भने, ‘हाम्रोतर्फबाट पार्टी कार्यालय आउनुभएका प्रहरीहरूलाई कुनै किसिमको अवरोध तथा प्रतिकार हुनेछैन।’

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत कास्कीकाे अनुमतिपछि प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो।



सम्बन्धित
Loading...