दुवईको बाउन्सरको जागिर छाडेर नेपालमा कागती खेती – भिडियो सहित





रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती नगरपालिका १७ गोछडाटार निवासी सागर लम्सालले विदेशमा गरिएको जागिर छाडेर अहिले आफ्नै घरमा १ विगाहा क्षेत्रफलमा कागती खेतीमा रमाएका छन् ।

२ बर्ष अगाडि लम्सालले १ विगाहामा ३ सय बढी सुन कागती खेती लगाएकोमा अहिले यस बर्षबाट उत्पादन दिन थालेको छ ।


कागती खेती गर्न सजिलो पनि भएको र नगदे बाली समेत भएकोले अन्य खेतीबाट भन्दा राम्रो आम्दानी भएको अनुभव सागर लम्सालले सुनाए ।

२ बर्षको बीचमा करिब १४ लाख लगानी गरेका लम्सालले अर्को बर्षसम्म लगानी उठाउने अनुमान रहेको बताए । सुन कागतीको बजार निक्कै राम्रो समेत रहेकोले विक्रीको पनि समस्या नरहेको र अहिले उत्पादिन कागती गाउँघरकै पसलमा विक्री गरेर सकिने गरेको बताए । पछिल्लो ३/४ महिनामा उनले १४ क्युन्टल बढी कागती विक्री गरिसकेको बताए ।

लम्साले भने – ‘मैले २ पटक मात्रै काठमाडौं पठाएको छु । त्यस यता गाउँघरकै पसलहरुमा माग पु¥याउन धौधौ भएको छ । कावासोतीकै तरकारी मड्डीसम्म पनि पु¥याउन पाएको छैन ।’ लम्सालका अनुसार अहिले सुन कागति गाउँघरमै प्रतिकिलो १ सय ३५ रुपैयाँका दरले विक्री भईरहेको छ । कागती नगदे र बहुबर्षीय बाली हो । यसबाट २० देखि २५ बर्षसम्म उत्पादन लिन सकिने भएकोले पनि शुरुमा लागनी धेरै भए पनि पछि आम्दानी राम्रो हुने गर्दछ ।

लम्सालले भने – ‘यो बहुबर्षीय बाली हो । पानी धेरै भए कटाउन मिल्ने खालको खेतबारीमा लगाउँदा उपयुक्त हुन्छ । बहुबर्षीय बाली भएकोले शुरुको २/३ बर्ष जति लगानी भयो त्यस पछि कम्तिमा २० बर्षसम्म नियमित आम्दानी लिन सकिन्छ ।’

करिब ६ बर्ष नेपाल आर्मीमा र त्यस पछि करिब १३ बर्ष दुवई गरेर १९ बर्षे जागिरे जीवन छाडेर कावासोती १७ का सागर लम्साल कागती खेतीमा लागेका हुन् । विदेशमा बसेर काम गर्नु भन्दा यहाँ घर परिवारसँग बसेर आफ्नै बारीमा आफ्नै ढंगले काम गर्नुको मज्जा छुट्टै भएको लम्सालले बताए ।

उनले भने – शुरु शुरुमा विदेशबाट आएकोले के काम गर्छ र भनेर सबैले नपत्याउने गरे पनि आफूले एक मनले गरेपछि सफल भईदो रैछ । विदेशमा भन्दा यहाँ घरपरिवारसँग सुखदुख बाँडेर काम गर्नुको आनन्द बेग्लै हुँदो रैछ ।

सुन कागती पानी नजम्ने ठाउँमा लगाउनु उपयुक्त हुन्छ । सुन कागतीका लागि कावासोती र मध्यविन्दुको हावापानी र माटो निक्कै राम्रो मानिन्छ । सामान्य तया बाली लगाएको दोस्रो बर्षदेखि कागतीले उत्पादन दिन थाल्दछ भने तेस्रो बर्षदेखि पूरा उत्पादन दिने गर्दछ ।

 



सम्बन्धित
Loading...