लुम्बिनी कलेजमा बनेको कावासोती खानेपानीको ओभरहेड टंकी ३ बर्षदेखि अलपत्र



रामकुमार श्रेष्ठ –
कावासोती । नवलपुरको कावासोती ८ लुम्बिनी कलेज परिषरमा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ओभर हेड टंकी निर्माण कार्य अपूरो हुँदा विगत ३ बर्षदेखि अलपत्र परेको छ ।


गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको २ करोड ४२ लाख २८ हजार सहित ४ करोड ५७ लाखको कुल लागतमा खानेपानी टंकी निर्माण शुरु गरिएको हो ।

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले आजसम्म अलपत्र परेको भए पनि तत्काल काम शुरु हुने बताए । उनले ठेकेदार सम्पर्कमा आएको र केही दिन भित्र काम शुरु गरेर १५ गतेभित्र हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको बताए ।




९५ प्रतिशत काम सकिएको उक्त खानेपानी टंकी रङ्ग रोगन लगायतका मात्रै काम बाँकी छ । यहाँ खानेपानी टंकीसँगै २५ लिटर प्रति सेकेण्ड पानी प्रवाह गर्न सक्ने २ वटा बोरिङ्ग पनि धसिएको छ । उक्त बोरिङ्गबाट खानेपानी टंकीमा पानी लगि उक्त टंकीबाट कावासोती ८ र ९ मा खानेपानी वितरण हुने छ ।
ओभर हेड टंकी निर्माण सम्पन्न नहुँदा यहाँ रहेको २ वटा बोरिङ्गबाट पानी वितरण गर्न नपाएको लम्सालले बताए ।

अध्यक्ष लम्सालका अनुसार यस टंकीबाट कावासोती ८ र ९ को २५ सय भन्दा बढी घरधुरीमा पानी वितरण हुने छ । अहिले टंकी नबन्दा कावासोती ६ पूर्वटोलामा रहेको टंकीबाट सोझै पानी पठाउनु परेको लम्सालले बताए ।
२०७९ असार २१ गते भित्र निर्माण सम्पन्न हुनु पर्ने उक्त टंकी अहिलेसम्म अर्थात सम्झौता सकिएको साढे २ बर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

यो टंकी ४ सय ५० घनमिटरको ओभर हेड टंकी हो । यस टंकीबाट पानी वितरण गर्न पाए कावासोती ८ र ९ मा खानेपानीको बहाब अझ बढी हुने लम्सालले बताए । यो ओभर हेड टंकी निर्माणको लागि कृपा संरक्षण जेभी चितवनले जिम्मा लिएको थियो ।



सम्बन्धित
Loading...