नवलपुरमा बाढीले ३ करोड बढीको माछा बगायो
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा असोज ११ र १२ गते आएको बाढीले नवलपुरको नारायणी नदी तटीय क्षेत्रमा रहेको माछा पोखरी ठूलो क्षति भएको पाइएको छ । कावासोती १५, १७, मध्यविन्दु ३, २ लगायतको क्षेत्रमा गरी ३ करोड बढीको माछा बगाएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका कार्यालय प्रमुख डा. शर्मिला कुमालले असोज ११ र १२ गतेको बाढीले नवलपुरका नारायणी नदी तटीय क्षेत्र नजिक माछा पोखरी बनाएर माछा पालन गरेका किसानहरुको माछा बगाउँदा ३ करोड बढीको क्षति भएको जानकारी दिए ।
कावासोती १७ का परमेश्वर महतोले आफूले १ विगाहाको पोखरीमा ६० क्युन्टल माछा बगाएको बताए । उनले दुई बर्षदेखि पालेर राखेको माछा बगाएको बताए ।
कावासोती १५ का वडाध्यक्ष तेजकुमार श्रेष्ठको ३ विगाहा पोखरीमा पालेको माछा ४० क्युन्टल १५ लाख बराबरको क्षति भएको बताए ।
नारायणी नदीले बेला बेलामा माछा पालक व्यवसायीहरुलाई नाफा भए पनि कहिले काही बाढी आएर ठूलो क्षति हुने गरेको छ । कतिपय माछा पालक किसानहरुले माछाको विमा गरेको भए पनि कति पयले विमा गरेका छैनन् । विमा गरेका नगरेका सबैलाई धेरै थोरै राहत दिनु पर्ने नवलपुर मत्स्य व्यवसायी संघका अध्यक्ष इन्द्रमणी भुसालले बताए ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका कार्यालय प्रमुख डा. शर्मिला कुमालले क्षतिको तथ्यांक संकलन गरी प्रदेश सरकार मत्स्य विकास निर्देशनालयमा पठाएको र छिट्टै क्षतिपूर्ति आउने बताए । उनका अनुसार बढीमा एक कृषकलाई ३ लाख बराबरको राहत रकम उपलब्ध हुने बताए । उक्त राहत रकमबाट कृषकले माछाका भुरा हाल्न तथा पोखरीमा बाढीले भत्किएको संरचनाहरु बनाउन सक्नेछन् ।
नवलपुर माछाका लागि आत्मनिर्भर भएको छ । त्यति मात्र होइन चितवन, नारायणगढ, बुटवल, काठमाडौं लगायतका क्षेत्रमा पनि निर्यात हुने गर्दछ ।
नवलपुरमा २ सय बढी व्यवसायिक माछा पालक किसान रहेका छन् भने १ सय ४२ हेक्टर क्षेत्रफलमा माछा पोखरी रहेको छन् । नवलपुर जिल्लामा ९ सय ९४ मेट्रिक टन माछा उत्पादन हुने गरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका मत्स्य विकास अधिकृत सन्दीप लामिछानेले बताए ।