चितवनको स्कूलबस दुर्घटना, २८ जना घाइते

चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।
कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
अहिले चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको महतोले बताए । उनका अनुसार ३० जना विद्यार्थीसहित ३२ जना बसमा सवार थिए ।
पिकनिक गएर फर्किंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको थियो । एक जना छात्राको अवस्था गम्भीर रहेको र अन्य खतरामुक्त रहेको चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए ।
कालिका ९ मा स्काउटको हाइकिङमा ५ कक्षा देखि १० कक्षामा अध्ययनरत रहेको कालिका नगरपालिकाको मेयर विनोद रेग्मीले बताए । वस चालकले व्रेक फेल भएर दुर्घटना भएको आफूलाई प्रतिक्रिया दिएको मेयर रेग्मीले बताए ।