हिंसा न्यूनीकरणका लागि कानुनी सचेतना आवश्यक
कावासोती, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा कावासोती नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विविध कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने गरिन्छ । यो वर्ष “हामी सबैको प्रतिवद्धता लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता” भन्ने राष्ट्रिय नारा सहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
यहि सन्र्दभमा रहेर कावासोती नगरपालिकाले शिक्षक र वडा सदस्यहरुलाई लैंगिक हिंसा र कानुनी प्रावधानका विषयमा अभिमुखिकरण कार्यक्रम गरेको हो । शिक्षक मार्फत विद्यार्थीहरुलाई लैंगिक हिंसाको बारेमा र यो संग सम्बन्धीत ऐन, नियमका विषयमा जानकारी गराउने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताउनुभयो । त्यस्तै कार्यक्रमको उदेश्यबारे जानकारी गराउदै अधिकृत पाण्डेले सबै वडाका जनप्रतिनिधी मार्फत प्रत्येक घरघरमा हिंसा के हो र किन हिंसा सहनु हुन्न भन्ने विषयमा जानकारी गराउने बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले हिंसा न्यूनीकरणको लागि शुरुमा चेतनाको विकास गर्नुपर्ने बताउनुभयो । यसको लागि विद्यालय स्तरबाट नै शिक्षकहरु मार्फत हिंसाका कारण, प्रकार, प्रभावका बारेमा सचेतना अभिवृद्धि गर्नको लागि योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक अधिवक्ता राधा उपाध्यायले लैंगिक हिंसा र यसका प्रकार, महिला माथी हुने लैगिंक हिंसाको स्वरुपका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै लैगिंक समानताका लागि बनेका कानुनी व्यवस्थाका विषयमा प्रस्टाउनुभएको थियो । लैंगिक हिंसा न्यूनीकरण तथा नियन्त्रणका लागि संवैधानिक तथा कानूनी व्यवस्था, राज्यको नीति तथा कार्यक्रम निर्माण, संरचनात्मक व्यवस्था गरेर आम नागरिकमा जनचेतना, महिला शशक्तिकरण आवश्यक रहेको अधिवक्ता शर्माले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले लैंगिक हिंसा न्यूनीकरणका विषयमा जानकारी गराउनुभयो । पछिल्लो समय हिंसाका स्वरुपहरु परिवर्तन भएको भन्दै वैदेशिक रोजगारीले र्सिजना गरेका हिंसा बढ्दो रहेको बताउनुभयो । म हिंसा सहन्न र गर्दिन भन्ने कुरा व्यवहारमा लागु गर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) प्रमुख विन्दु विकले जिल्लामा बालवालिका वढि यौनजन्य हिंसामा परेको बताउनुभयो । चालु आर्थिक वर्षको चार महिनामा जघन्य अपराज अन्तरगत जबरजस्ती करणीमा ६ वटा मुद्धा दत्ता भएको, जबरजस्ती उद्योगमा एउटा, बाल यौन दुव्यवहारमा ३ वटा र बहुविवाहमा २ वटा मुद्धा दत्र्ता भएको महिला सेल प्रमुख विकले जानकारी दिनुभयो ।
कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले हिंसा न्यूनीकरणका लागि १६ दिने अभियानमा मात्र होइन अन्य समयमा पनि अव नगरपालिकाले समुदायस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा कावासोती नगरपालिकाको कानूनी सल्लाहकार ऋषि अधिकारीले हिंसाका स्वरुप र न्यूनीकरणका उपायहरुको बारेमा जानकारी गराउनुभएको थियो । जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले हिंसाको जोखिममा धरै बालवालिका भएको हुदा विद्यालय स्तरबाट नै सचेतनाका कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागि शिक्षक र जनप्रतिनिधीले हिंसा न्यूनीकरण गर्नको लागि कानुनी सचेतना आवश्यक रहेको बताएका थिए । कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महिला तथा बालवालिका शाखा (छैंठौ अधिकृत) शुभद्रा शर्माले संचालन गर्नुभएको थियो ।