नारायणगढ–बुटवल सडकखण्ड २०८३ सालको मंसिरभित्र निर्माण सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली




काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड २०८३ साल मंसिरभित्र सम्पन्न हुने बताएका छन्।

चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नारायणगढ–बुटवल सडक खण्डको निर्माणको काम प्रारम्भ भएकाले ८३ साल मंसिरभित्र सम्पन्न हुने बताएका हुन्।



यस अगाडि कार्तिक मसान्तमा निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलका लागि बालुवाटार पुगेका बेला प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभएमा ठेक्का तोड्नुको विकल्प नहुने चेतावनी दिएका थिए।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको सुरुवात चीनबाट सुरु भएपनि छिट्ट‌ै भारत भ्रमणमा जाने समेत बताए । ओलीलाई अब दक्षिणको भ्रमण कहिले गर्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘अब एरेन्ज गर्नुपर्छ। फर्केकै दिन कसरी भन्ने।’

प्रधानमन्त्री ओलीले भारतभन्दा पहिले चीन भ्रमण गर्दा नेपाल उत्तरतिर ढल्केको भनाईप्रति भने खण्डन गरेका छन्।

‘दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन।’ उनले भने,‘भारतका लिडरहरुले यस्तो गरेको थाहा छैन।’

चीन भ्रमण सफल भएको र नेपालको विकासका लागि धेरै आयोजनामा सहमति र सम्झौता भएको उनको दाबी छ। ओलीले चीन भ्रमणमा बीआरआई परियोजना ऋण नभएको र बेइजिङमा त्यसबारेको छलफलमा ऋण सम्बन्धी कुरा पनि नउठेको स्पष्ट पारे। उनले चीनसँग ऋण लिन लाग्यो भन्दै भ्रम छर्ने काम भएको जिकिर गरे।

त्यस्तै उनले अबको १८ महिनासम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहोर्‍याए।

 



सम्बन्धित
Loading...