दुम्किबासबाट नवलपुर पाल्पा जोड्ने बाटो स्तर उन्नती




नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र पाल्पा जिल्ला जोड्ने सडक स्तरोन्नति कार्य सुरु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका पाँचमा पर्ने धुर्कोट – ओखरीगौडा हुँदै पाल्पा जोड्ने सडक, तीन करोड बढीको लागतमा स्तरोन्नति हुन लागेको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट काम सुरु भएको हो ।



पाँच किलोमिटर लामो सडक खण्डमा कालोपत्रे तथा आवश्यकता अनुसार ढलान गर्ने गरी काम सुरु भएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो । यस सडक खण्ड निर्माण भएपछि दुई जिल्ला नवलपुर र पाल्पाका बासिन्दा लाभान्वित हुने उहाँले बताउनुभयो ।

पालिकाको पहाडी क्षेत्रमा पर्ने यस सडक खण्डको निर्माणले आवतजावतमा मात्रै नभई यस क्षेत्रमा उत्पादन भएका कृषि उपजहरूको बजारीकरणमा समेत टेवा पुग्ने अध्यक्ष गिरीले बताउनुभयो । पालिकामा रहेका मुख्य सडकको स्तरोन्नतिका लागि आफूले सङ्घ तथा प्रदेश सरकारसङ पहल गर्ने कार्य गर्दै आएको र फल स्वरूप काम पनि सुरु गर्न सफल भएको उहाँले बताउनुभयो ।

तीन करोड ३५ लाख, ९८ हजार ९६८ रुपैयाँ लागतमा , २०८३ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी, रोजिना मायरा जे.भि. हेटौडासँग गत जेठ ३० गते सम्झौता भएको हो । सम्झौताको मितिले दुई वर्ष भित्र यस सडक खण्डको निर्माण सम्पन्न गर्नुपर्ने छ ।



सम्बन्धित
Loading...