बर्दघाटको खजुरा खोलामा नदीजन्य वस्तुको व्यापक चोरी




परासी । पश्चिम नवलपरासीको बर्दघा नगरपालिकामा रहेको खजुरा खोलामा नदिजन्य पदार्थको चरम दोहन भएको छ । प्रहरी प्रशासन र स्थानीय तहलाई छलेर व्यापक रुपमा चोरी निकासी हुँदै आएको छ ।

हरेक बर्ष खजुरा खोलाको नदिजन्य पदार्थमाथि चोरी निकासी गर्नेहरुको राईंदाईं नै चल्ने गरेको छ । दिनहुँजसो उत्खननमा सम्लग्न ट्याक्टरहरु नगरपालिकाले नियन्त्रणमा लिदै आएको छ । यद्यपि प्रहरी प्रशासन र स्थानीय तहको आँखा छलेर रातारात अवैध उत्खनन् र डम्पिङ हुने गरेको छ । चोरी निकासी बढेपछि नगरपालिकाले चोरी निकासी रोक्न सक्रियता बढाएको छ ।



शुक्रबार र शनिबार मात्रै दुई दिनको अवधिमा नगरपालिकाले अवैध रुपमा डम्प गरि राखिएको ९३ ट्याक्टर र २४ टिप्पर ढुङ्गा जफत गरीएको नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाले जानकारी दिए । यसैगरी ४ टिप मिस्कट समेत जफत गरिएको सापकोटाले बताए ।

बर्दघाट नगरपालिकाले चालू आर्थिक बर्षमा खोला ठेक्का लगाए तापनि आईईई प्रतिवेदनमा वन क्षेत्र देखिएकाले अन्तिम अवस्थामा नगरपालिकाले ठेक्का रद्ध गरेको थियो । वनले सहमती नदिए पछि ठेक्का रद्ध गर्नु परेको नगरपालिकाले जनाएको छ ।

ठेक्का लाग्न नसक्दा अवैध उत्खनन र चोरी निकासीले खजुरामा नदिजन्य पदार्थनै रित्तिएको छ । बर्दघाट नगरापालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रहरी प्रशासन र नगर प्रहरी अहोरात्र खटाईएको र अवैध डम्पिङ नियन्त्रणमा लिईएको जानकारी दिए ।

श्रेष्ठले भने – ‘ठेक्का पनि लागेन, खोला पनि रहेन भने जस्तो भाछ, प्रहरी, प्रशासन, नगर प्रहरी खटाएकै छौं, चौबीसै घण्टा खोलामै कुर्न पनि सम्भव भएन सक्दो नियन्त्रण गरेका छौं ।’ डम्पिङमा भेटिएको नदीजन्य पदार्थको खरिद बिल, स्टक बिल समेत नरहेको कारण बैधता नदेखिएको र जफत गरिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताए ।

नगरपालिकाले ट्याक्टर नियन्त्रणमा लिएर जरिवाना बापतको राजश्व काटेर मात्रै पठाउने गर्दछ । प्रहरीले ट्याक्टर समाए बापत जरिवानाको कुल रकमको भ्याट कटाएर २५% प्रोत्साहन रकम दिईने गरिएको अधिकृत खनालले जानकारी दिए ।

दिनदहाडै खजुरा खोलामा चोरी निकासी हुँदा प्रहरी प्रशासन र सरोकारवाला निकायको भूमिकाप्रति भने स्थानीयले आशङ्का व्यक्त गर्न थालेका छ्न । यता प्रहरी प्रशासन या स्थानीय तहले ट्याक्टर नियन्त्रणमा लिए तापनि राजनीतिक नेतृत्वबाट वा अन्य विभिन्न तहबाट समेत दबाब हुने गरेको आम नागरिकले सजिलै आंकलन गर्ने गरेका छ्न ।

केही दिन अघि मात्रै प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले खजुरा खोलाको स्थलगत अवलोकन गरेका थिए ।

स्थलगत अवलोकनका क्रममा नदीजन्य पदार्थको ठूलै परिमाणमा चोरी निकासी भएको देखिएको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले बताए ।

‘जताततै नदिजन्य पदार्थ चोरी हुने गरेको छ तर अर्को कुरा राज्यको नीति पनि स्पष्ट छैन । वन क्षेत्र पर्यो भनेर चुरेले सहमति दिदैन अनि ठेक्का लाग्दैन, ठेक्का नलाग्दा व्यापक चोरी हुन्छ ।’ समन्वय प्रमुख यादवले भने – ‘यता मिस्कट ढुङ्गा गिटि बालुवाको अभावमा विकास निर्माणका काम गर्न पनि कठिनाई छ, राज्यले एउटा मापदण्ड बनाउन जरुरी छ ।’

स्थानीय खोला नाला बिविध कारणले ठेक्का लाउन नपाईने अर्कातिर कुनै पुर्वाधारको काम गर्नु पर्दा कच्चा पदार्थ कहाँबाट ल्याउने भन्ने अवस्था देखिएको जिसस प्रमुख यादवको भनाई छ ।

बर्दघाट नगरपालिकाको वडा नम्बर ५, १४ र १६ नम्बर वडाबाट चोरीनिकासी हुने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस अघि पनि अवैध डम्पिङ पटक पटक जफत गर्दै आएको छ तर चोरी निकासी नियन्त्रण भने हुन सकेको छैन ।


सम्बन्धित
Loading...