नवलपुरमा रगत अभाव, मध्यविन्दु अस्पतालका विरामीलाई स्वास्थ्यकर्मीले दिन थाले रगत
नवलपुर ।
माग अनुसारको रगत संकलन हुन नसकेपछि नवलपुरमा रगत अभाव भएको छ । नवलपुरको कावासोती र आसपासका अस्पतालहरुले शल्यक्रिया सेवा पनि थप गरेपछि रक्त सञ्चार केन्द्र कावासोतीमा संकलन भएको रगत नवलपुरमै पु¥याउन गाह्रो भएको नेपाल रेडक्रस कावासोतीका अध्यक्ष बाबुराम कंडेलले बताए । कंडेलले भने – ‘अस्पतालमा विरामीको चापका कारण रगतको माग बढेको छ, तर यही बेला दाताको संख्या घटेकाले रगतको माग धान्नै हम्मे हम्मे परेको छ ।’
रगत नपाएकै कारण कतिपय अवस्थामा बिरामीका आफन्त रगतको खोजीका लागि भौतारिरहेको भेटिने गरेको उनले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती नवलपुर रक्त सञ्चार सेवाले नवलपुर जिल्लामा सामान्यतया १ महिनामा १ सय ५० युनिट रगत खपत हुने गरेकोमा अहिले १ महिनामा ३ सय भन्दा बढी युनिट रगत खपत हुने गरेको हो ।
मागको अनुपातमा नवलपुरमा रगत संकलन हुन नसकेको रेडक्रस कावासोती उपशाखा अध्यक्ष कंडेलले बताए ।
चितवनबाट समेत कावासोतीबाट रगत पठाउनु पर्ने भएकोले माग अनुसार रगत पुराउनै गाह्रो भएको उनले बताए ।
जाडोको मौसममा रुघाखोकी लगायतका कारणले नियमित रक्तदाताहरुमा पनि कमि आएको उनले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी कावासोतीले संस्थागत रुपमा र व्यक्तिगत रुपमा पनि रक्तदान गर्न अनुरोध गरेको छ ।
मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाका मेडिकल सुपरिटेण्डेन्ट डा. रमेश प्रसाद आचार्यले रगत अभावकै कारण अस्पतालमा शल्यक्रिया नै प्रभावित नभएपनि रगत अभाव भने देखिएको बताए ।
उनले भने – अस्पतालको आफ्नै ब्लड बैंक छैन । रगत अभाव भईहालेको थाहा हुन्न तथापि विरामीहरुले रगत नपाएकै कारण अस्पतालकै कर्मचारीहरुबाट रगत दिएर काम चलाउने गरेका छौं ।
अस्पताल भित्रकै नियमित रक्तदाता कर्मचारीहरुको सामाजिक सञ्जाल ग्रुप बनाएर शल्यक्रिया गर्ने बेला विरामीको आफन्तले रगत नपाएर उक्त ग्रुपमा भनेर रगत अभाव हाललाई हल गर्ने गरेको डा. आचार्यले बताए ।