ऐतिहासिक मदार बाबा मेला फागुन ५ गतेदेखि सुरू हुँदै
मेलाका मदिराजन्य वस्तु विक्री वितरण र प्रयोगमा प्रतिबन्ध
नवलपुर । नवलपुरको विनयी त्रिवेणीमा हरेक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक मदार बाबा मेला यस वर्ष फागुन ५ गतेदेखि सुरू हुने भएको छ । हिन्दू र मुस्लिम समुदायबीचको धार्मिक सहिष्णुता र आपसी सद्भावको प्रतीक मानिने यो मेला विशेष गरी नवलपुरको मदारिया पहाडमा अवस्थित मदार बाबा (मदर हसन) को मजारमा लाग्ने गर्दछ ।
यहाँ नेपाल र भारतका लाखौं हिन्दु तथा मुस्लिम धर्मावलम्वीहरुले मदारबाबाको दर्शन गर्न आउने गर्दछन् ।
नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ भक्तजन तथा दर्शनार्थीहरू मेलामा सहभागी हुने गर्दछन् । धार्मिक आस्था, सांस्कृतिक विविधता, र व्यापारिक गतिविधिहरूको संगमस्थलका रूपमा परिचित यस मेलामा विशेष रूपमा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम, र विभिन्न व्यापारिक स्टलहरू रहने छन् ।
मदार बाबा मेलाको मिति हिजरी पात्रोअनुसार निर्धारण गरिने भएकाले हरेक वर्ष मेलाको मिति फरक पर्ने गर्दछ । स्थानीय प्रशासन, मजार व्यवस्थापन समिति तथा सरोकारवाला निकायहरूको छलफलपछि यस वर्ष फागुन ५ गतेदेखि मेलाको औपचारिक सुरूआत गर्ने निर्णय भएको हो ।
दुई जिल्लाको सीमामा पर्ने भएकाले मेलालाई व्यवस्थित र सुरक्षित बनाउन नवलपुर तथा नवलपरासीका सुरक्षा निकायहरूले संयुक्त रूपमा सुरक्षा योजना बनाएका छन् ।
मेलामा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा अन्य सुरक्षा संयन्त्रहरू विशेष सतर्कता अपनाउँदै मेलास्थलको सुरक्षा व्यवस्था कडा पार्ने भएका छन् ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलका अनुसार मेलाको समयमा भीड व्यवस्थापन, शान्ति–सुरक्षाको सुनिश्चितता, र आकस्मिक उद्धारका लागि सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिइएको छ । मेलास्थल वरपर निगरानी बढाइने, सिसीटिभी क्यामेरा जडान गरिने तथा शान्ति सुरक्षाका लागि विशेष गस्ती परिचालन गरिने उनले बताए।
धार्मिक एवं सांस्कृतिक महत्व बोकेको मदार बाबा मेला व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । मेलामा स्थानीय व्यवसायीहरूले व्यापार गर्दै आएका छन भने नेपाल–भारत सीमा क्षेत्रका व्यवसायीहरूले पनि आफ्नो उत्पादन बिक्री गर्दै आएका छन ।
स्थानीय पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने यस मेलाले क्षेत्रीय एवं धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । धार्मिक श्रद्धालुहरूका लागि मात्र नभई सांस्कृतिक अध्ययन गर्नेहरूका लागि पनि यो मेला आकर्षणको केन्द्र बन्ने गरेको छ ।
मदार बाबा मेलाले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता, र आपसी भाइचारा अभिवृद्धि गर्ने मात्र नभई नवलपुर तथा नवलपरासीका आसपासका क्षेत्रहरूमा सामाजिक तथा आर्थिक गतिविधि प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
त्यसैगरी शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी मदारबाबा मेलामा मदिराजन्य वस्तु विक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ ।
सूचनामा यस्ता कार्य गरेको गराएको भेटिए कडा कारवाही गरिने समेत उल्लेख गरिएको छ ।
त्यसैगरी मेला स्थलको सुरक्षाका लागि पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका गरी सशस्त्र प्रहरी नेपाल प्रहरी लगायतका टोली सहित ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । उनले मेलाको सुरक्षाको लागि दुवै जिल्लाको सुरक्षा अधिकारीहरुको संयुक्त वैठक बसिसकेको र दुवै जिल्लाबाट संयुक्त रुपमा सुरक्षा व्यवस्था मिलाउने पनि बताए ।