उडिसाको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
भारतको उडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको रहस्यमय मृत्यु भएको छ । छात्रावासमा बस्दै आएकी उनी आइतबार मृत अवस्थामा फेला परेकी थिइन् । उनी बिटेक तेस्राे वर्षमा अध्ययन रहेको र उनको शंकास्पद मृत्युपछि विद्यार्थीले विश्वविद्यालय क्याम्पसपरिसरमा न्यायका लागि आन्दोलन गरिरहेको उडिसाको सञ्चारमाध्यम संवादले समाचार प्रकाशन गरेको छ ।
घटनापछि छात्रावासमा रहेका नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न प्रशासनले आदेश जारी गरेको छ । घटनाबारे दिल्लीस्थित नेपाली राजदूतावासले कुनै प्रतिक्रिया दिएको छैन । विश्वविद्यालयले आइतबारसम्म क्याम्पस छाड्न त्यहाँका सबै नेपाली विद्यार्थीलाई निर्देशन जारी गरेको छ ।
‘आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआइआइटी विश्वविद्यालयको क्याम्पस छात्रावासमा रहस्यमय स्थितिमा छात्रा मृत फेला परेकी छिन् । बिटेक तेस्राे वर्षकी छात्रा प्रकृति लम्साल रहेको जानकारी हुन आएकाे छ । तर। उनको मृत्युको वास्तविक कारण पत्ता लागेको छैन,’ संवादमा पत्रकार कस्तुरी स्वाईइनले समाचार लेखेकी छिन् ।
समाचारअनुसार सोही विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ अध्ययन गर्दै आएका विद्यार्थीसँग उनको तनावपूर्ण व्यक्तिगत सम्बन्ध रहेको र उनको दुर्व्यवहारका कारण उनले मृत्युवरण गरेको आशंका गरिएको छ । लम्सालको शव भुवनेश्वरको क्यापिटल अस्पतालमा राखिएको छ ।
नेपाली विद्यार्थी प्रकृतिले उक्त व्यक्तिले आफूलाई गरेको दुर्व्यवहारबारे विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ)लाई जानकारी दिएको, तर क्याम्पसले चासो नराखेको समाचारमा उल्लेख छ ।
घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थी सडकमा उत्रेर क्याम्पसको प्रवेशद्वारबाहिर नाराबाजी गरेका थिए । उनीहरूले प्रकृतिलाई न्याय दिन तथा विश्वविद्यालयका अधिकारीहरूको लापरबाहीका लागि जवाफदेहिता माग गरेका छन् । घटनापछि विश्वविद्यालयबाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार ज्ञानरञ्जन मोहन्तीले प्रकृतिलाई दुर्व्यवहार गरेको भनिएका विद्यार्थी अद्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे परिवारलाई जानकारी दिएको स्थानीय सञ्चारकर्मीलाई बताएका छन् ।