मध्यविन्दुमा ३ दिने कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकाको आयोजननामा मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ हुने भएको छ ।
मध्यविन्दु नगरपालिकाले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । महोत्सव फागुन २२ गतेदेखि २४ गतेसम्म मध्यविन्दु ७ को नवजागरण माविको रंगशालामा हुने पत्रकार सम्मेलनमा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताए ।
मध्यविन्दु नगरपालिका भित्रका कृषकहरुलाई आधुनिक कृषि प्रविधिको बारेमा जानकारी गराउने, नगरपालिका भित्र उत्पादित कृषि उपजहरुको बजारिकरण गर्ने, कृषि उद्यमीहरुलाई प्रोत्साहन गर्ने, नगरपालिका भित्र उत्पादित रैथाने खानका परिकारहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव गर्न लागिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताए ।
महोत्सवमा कृषि तथा प्रविधि प्रदर्शनी स्टल व्यवस्थापनदेखि कृषि प्रदर्शनी, झाँकी व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, अन्तरक्रिया कार्यक्रम, विद्यालय स्तरीय हाँजिरी जवाफ प्रतियोगिता, माटो तथा गोबर परिक्षण, रैथाने खाना प्रदर्शनी लगायतका कार्यक्रम रहने नगर प्रमुख भिमलाल अधिकारीले बताए । उनले उक्त कार्यक्रमा लागि १८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको, महोत्सवमा २५ हजारको प्रत्यक्ष सहभागिता रहने अनुमान गरिएको र प्रवेश शुल्क निशुल्क राखिएको बताए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख पूर्णकला चौधरीले मध्यविन्दु नगरपालिकाले कृषि र पशुको क्षेत्रमा केही गरेन भन्ने परिरहेको बेला गर्न लागेको कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सवले कृषकहरुलाई आधुनिकीकरण तर्फ लैजान टेवा पुग्ने बताए ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नगरपालिकाले गर्न लागेको महोत्सवमा मध्यविन्दु नगरपालिका भित्र उत्पादित कृषि उपजको मात्र प्रदर्शनी नभएर सबै ८ वटै पालिकाहरुको प्रदर्शनी हुने विश्वास व्यक्त गरे । उनले यहाँका कृषकहरुले व्यवसायिक रुपमा कृषि गर्न र त्यसको प्रद्र्धधन गर्न टेवा पुग्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए ।