नवलपरासीमा हवाइ फायर, प्रहरीसहित २१ जना घाइते




रामकुमार श्रेष्ठ –
नवलपरासी – पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप भएको छ । मंगलबार बिहान पौने १० बजेदेखि सुरू भएको स्थानीयबीचको झडप दुई घन्टापछि प्रहरीको नियन्त्रणमा आएको हो।

५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेपछि अहिले प्रहरीको नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण थापाले जानकारी दिए।



उनका अनुसार ५ जना सर्वसाधारण, १२ जना प्रहरी र ४ जना सशस्त्र प्रहरी गरी २१ जना घाइते भएका छन्। झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन्। घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी दुई स्थानीयबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर आज पुनः झडप भए पनि यकिन कारण भने नखुलेको इन्स्पेक्टर थापाले जानकारी दिए।

अहिले झडप नियन्त्रणमा आए पनि नेपाल प्रहरीका १५० जना र सशस्त्र प्रहरी एक सय जना परिचालन भएको उनले बताए।
झडपलाई नियन्त्रणमा लिन ६ जनालाई पक्राउ गरेको जनाइएको छ । प्रेम विवाहको विषयलाई लिएर झडप भएको स्थानीयले बताए पनि प्रहरीले भने झडपको कारण नखुलेको र घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले आगो लगाइदिएको पनि थापाले बताए ।


सम्बन्धित
Loading...