गाउँपालिका अध्यक्ष लागुऔषध कारोबारमा दोषी ठहर
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् । नवलपरासी जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गरेको फैसलाले अध्यक्ष गुप्तासहित अन्य दुई जनालाई लागुऔषधमा कसुर ठहर गरेको हो ।
कसुर ठहर हुने अर्कामा रघुनाथ प्रसाद धोबी छन् । अभियोग ठहर भएका धोबी गाउँपालिकाका नगर प्रहरी थिए । २०७९ साल असोज २६ गतेको मुद्दाको मंगलबार फैसला भएको हो । गाउँपालिका अध्यक्ष गुप्तालाई दोषी ठहर गरेपनि सजाय तोक्न भने बाँकी रहेको नवलपरासी जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए ।
सोही मुद्दाका दोषी नगर प्रहरी धोवी भने २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामै रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सूचना अधिकारी नारायण थापाले बताए । सजायको फैसाला आइनसकेकोले गाउँपालिका अध्यक्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा नलिएको थापाले जानकारी दिए । उनले भने – हामीलाई पनि यस विषयमा खासै जानकारी थिएन । प्रहरी अधिकारी फेरिरहने हुनाले पुराना मुद्दाहरु भुल्दै जाने हुँदो रैछ । अब बुझ्दै छौं ।
उक्त मुद्दाका अन्य दुई जनालाई अभियोगबाट सफाई पाएका छन् । सफाई पाउनेमा रामा गुप्ता भन्ने रामा साह र जीतेन्द्र पासवान छन् । उनीहरू भारतीय नागरिक हुन् । अभियोग लागेका पाल्हीनन्दन गाउँपालिका–३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन् ।
अध्यक्षसहित धोबीलाई कसुर ठहर गरे पनि सजाय निर्धारणका लागि भने आउँदो फागुन २९ गते पेशी तोकिएको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए । लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिबाना हुने भन्दै सजाय ठहर फैसलामा भनिएको छ, ‘प्रतिवादी बैजुप्रसाद गुप्ता (अध्यक्ष) लाई अपराध गरेबापत हुने सजायको आधा सजाय हुने हुँदा सजाय निर्धारणका लागि फागुन २९ मा पेशी तोक्नु।’ आदेशअनुसार अध्यक्ष गुप्ताले लागुऔषध मुद्दाको कसुरबापत हुनेमध्ये आधा सजाय पाउने शाखा अधिकृत खनालले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष गुप्ता दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा भएको घटनामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जीतेन्द्र) लाई फसाउन खोजेको भन्दै त्यतिबेलै सदरमुकाममा परासीमा विरोध र प्रदर्शन भएको थियो । अध्यक्ष गुप्ताको निर्देशनमा रघुनाथ प्रसाद धोबी र मन्टु भनिने विवेकप्रसाद पाण्डेले रामा र जीतेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषधको झोला फ्याँकेर गई फसाउन खोजेको आरोप जीतेन्द्रको परिवारको थियो । प्रहरीसहितको मिलमतोमा उक्त लागुऔषध दुई जनाबाट बरामद भएको भन्ने प्रतिवेदन बनाएर मुद्दा दर्ता गरिएको प्रहरीमाथि समेत आरोप थियो। बरामद भएको लागुऔषधमा २/२ थान एम्पुलको झोलासहित ९०/९० थान डाइजेपाम नुर्फिन र फेनार्गन रहेको उल्लेख थियो ।