स्ववियु निर्वाचनः मध्यविन्दु क्याम्पसमा अझै ताला खुलेन, जनज्योति कलेजमा आज तालिका सार्वजनिक




नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विद्यार्थी संगठनले लगाएको ताला अझै खुलेको छैन ।

विद्यार्थीको माग पुरा गर्नका लागि आज छलफलको प्रयास भए पनि सहमति जुट्न नसकेपछि ताला नखुलेको नेविसंघ नवलपुका सभापति हरि सुवेदीले बताउनुभयो ।




तीन वटा विद्यार्थी संगठनले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा मध्यविन्दु क्याम्पसमा संघ संगठन दर्ता गर्ने कार्यक्रम प्रभावित भएको छ ।

अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनले विद्यार्थीको नामावली सार्वजनिक गर्दा नाम ठेगाना र मोबाईल नम्बर सहित सार्वजनिक गर्नु पर्ने माग राखेको भए पनि निर्वाचन समिति उक्त कुरामा सहमत नहुदा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन ।

यता नवलपुरको जनज्योति कलेज प्रगतिनगरमा आज स्ववियु निर्वाचनको तालिका प्रकाशन भएको छ । प्रकाशित तालिका अनुसार भोलि विद्यार्थीहरुको संघसंगठन दर्ताको लागि समय निर्धारण गरिएको छ ।

नवलपुरको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पस, रजहरको देवचुली कलेज, गैडाकोटको एसपिएम कलेज गैडाकोट, जनमुखी आदर्श कलेज १६ नम्बर, अरुणखोला कलेज अरुणखोलामा विद्यार्थी संघ संगठनले स्ववियु निर्वाचनका लागि नाम दर्ता गराएका छन् ।

यस अघि नवलपुरका ६ वटा कलेजमा स्ववियु निर्वाचन भएकोमा यस बर्ष जनमुखी आदर्श बहुमुखी क्याम्पस १६ नम्बर र जनज्योति बहुमुखी क्याम्पस प्रगतिनगर गरी थप दुई वटा कलेजमा स्ववियु निर्वाचन हुने भएको छ भने कालिका सस्कृति पिध्यापिठ गैडाकोटको निर्वाचन तालिका सार्वजनिक हुन बाँकी छ ।



सम्बन्धित
Loading...