राजा ल्याउँछौं भन्दैमा आउँदैनः मुख्यमन्त्री पाण्डे
रामकुमार श्रेष्ठ –
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पच्चेहरुले सामान्य शक्ति प्रदर्शन गरेकै भरमा राजतन्त्र ल्याउन नसक्ने बताएका छन् ।
आज नेपाल पत्रकार महासंघ नवलपुरको आयोजनामा नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय भवनमा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूसँग सेना, प्रहरी, प्रशासन हुँदा पनि राजतन्त्र बचाउन नसकेकोहरुले अहिले आएर राजतन्त्र ल्याउछु भन्नु सपना मात्रै भएको बताए ।
मुख्यमन्त्री पाण्डेले राजतन्त्रको बेला नेपाली जनताले कहिलै सुखका श्वास फेर्न नपाएकोले नेपाली जनताले कहिलै पनि राजतन्त्रको पक्षमा वकालत गर्न नहुनेमा जोड दिए ।
उनले अहिले लोकतान्त्रिक वेवस्था भएकोले जसले जे नारा लगाएपनि छुट भएकोले यस्ता र्याली नारा सामान्य भएको बताए । उनले गणतन्त्र स्थापनाका बेला गणतन्त्रका पक्षमा नारा लगाएकैहरु अहिले राजाको पक्षमा वकालत गरिरहेको बताए ।
यसैबीच नेपाल पत्रकार महासंघ नवलपुरका सभापति श्रीराम सिग्देलले पत्रकार महासंघ नवलपुरको भवन निर्माणका लागि बजेट विनियोजन गर्न ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पत्रकार महासंघको भवन बनाउने गरी सरकार लागेकोले नवलपुरमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्य मन्त्री पाण्डेले आज नै मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा कावासोतीको नयाँ भवन पनि उद्घाटन गरेका थिए ।
मध्यविन्दु अस्पतालको नयाँ भवन उद्घाटन गर्दै उनले अस्पताललाई अब छिट्टै १ सय शैया सञ्चालन स्वीकृत दिइने बताए ।