सुन तस्करीमा पक्राउ परेर छुटेका लामा २५ करोडसहित पक्राउ
प्रहरीले २५ करोड रुपैयाँबराबरको अमेरिकी डलर तथा युरोसहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का कुसाङ लामालाई सार्वजनिक गरेको छ।
लामा सोमबार राति टोखाबाट पक्राउ परेका हुन्। उनले ट्रकको सिटमुनि फल्स बटम बनाएर डलर र युरो चीन तस्करी गर्ने प्रयास गरेका काठमाडौं अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए।
प्रहरीले १३ लाख ७५ हजार एक सय ५० युरो तथा तीन लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको हो। पक्राउ परेका लामा ०७३ सालमा सुन तस्करीमा पक्राउ परेकोमा पाँच वर्ष जेल बसेर छुटेका थिए।
चिनियाँ नागरिकहरूले आफूलाई सो डलर र युरो दिएको उनले सोधपुछमा बताएका छन्। तस्करीका नाइके गिरोहमाथि अनुसन्धान भइरहेको एसएसपी बस्नेतले बताए।
प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।