स्ववियु निर्वाचन: एसपिएम कलेजमा एकलौटी गरेको भन्दै अनेरास्ववियूद्वारा तालाबन्दी


गैडाकोट । नवलपुरको गैडाकोटमा रहेको एसपिएम कलेजमा कलेज प्रशासन र नेपाल विद्यार्थी संघको मिलोमतोमा एकलौटी रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको छ ।



एसपिएम कलेजमा एकलौटी गरेको भन्दै एमाले निकट अनेरास्ववियुले सोमबार फेरि तालाबन्दी गरेको हो ।

सूर्यभक्त पतनादेवी मेमोरियल कलेजमा विज्ञप्ति निकालेर तालाबन्दी गरेको जानकारी दिएको हो ।



अनेरास्ववियुले निकालेको विज्ञप्तिमा विद्यार्थी संगठनलाई छलफलमा समेत नबोलाईकन क्याम्पस प्रशासनले आफू अनुकुल विधार्थी संगठनसंग मात्र सहकार्य गर्दै आफ्नो अनुकुलको विद्यार्थी संगठनको आडमा ताला फोडेर कार्यतालिका निकालेको आरोप लगाएको छ ।

अनेरास्ववियुले एकलौटी ढंगले प्रक्रिया अगाडि बढाएर एकलौटी मनोनयन दर्ता गरेकोप्रति गम्भीर असहमति व्यक्त गर्दै संगठनको उपस्थितिमा प्रक्रिया अगाडि नबढाउँँदासम्मको लागि तालाबन्दी गरिएको जनाएको छ ।

कलेजले भने सोमबार नै निर्वाचन तालिका सार्वजनिक गरी मनोनयन दर्ताको लागि समय निर्धारण गरेको थियो ।

प्रकाशित निर्वाचन तालिका अनुसार सोमबारनै उमेदवारीको समयमा नेपाल विद्यार्थी संघ प्यानलको मात्र उम्मेद्वारी परेको सार्वजनिक गरेको थियो । क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका संयोजक शिवजी अधिकारीका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ नेपाल विद्यार्थी संघका मात्रै उम्मेदवारहरुको मनोनयन परेको दर्ता परेको हो ।

तर अनेरास्ववियुले एकलौटी ढंगले प्रक्रिया अगाडी बढेको प्रति गम्भीर असहमति जनाउदै सवै संगठनको उपस्थितिमा निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै तालावन्दी गरेको जनाएको छ ।

यसअघि जिल्लामा एसपिएम कलेज सहित ३ कलेजले सुचना प्रकाशित गर्दै स्ववियु निर्वाचन स्थगन गरेको थियो ।

यता स्ववियु निर्वाचनका लागि नेपाल पब्लिक क्याम्पस संघ नवलपुर सकारात्मक देखिए पनि मंगलबार नवलपुरका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन ।

नवलपुरका ४ राजनीतिक दलको दबाब पछि यहाँका ४ विद्यार्थी संगठनको वैठक बसी आन्दोलन फिर्ता लिंदै क्याम्पसमा लगाएको ताला खोलेको थियो । तथापि विद्यार्थी संगठनहरुबीच यहाँका क्याम्पसहरुमा दलीय भागबण्डा नमिले पछि स्ववियु निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको स्रोतले जनाएको छ ।

 


सम्बन्धित
Loading...