४ दिन भित्र कावासोतीको फोहोर उठाउने नगरपालिकाको प्रतिबद्धता




नवलपुर ।
नवलपुरको कावासोती नगरपालिका भित्रको फोहोर ४ दिन भित्र उठाउन कावासोती नगरपालिकाले प्रतिबद्धता जनाएको छ ।

आज कावासोती नगरपालिकाको तर्फबाट वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक यमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, नेकपा माओवादी केन्द्रका तर्फबाट बलराम ढकाल, फोहोर मैलो व्यवस्थापनका जिम्मा लिएको ठेकेदारको पक्षको तर्फबाट बलराम पुरी सहितको टोली बसेर यस्तो प्रतिबद्धता जनाएका हुन् ।



कावासोती नगरपालिका भित्रका फोहोर अबको ४ दिन भित्र उठाउने र तत्काललाई १७ वटै वडाहरुले आफ्नो वडा भित्रको फोहोर व्यवस्थापन गर्ने गरी सम्झौता भएको नेकपा माओवादी केन्द्र कावासोतीका अध्यक्ष बलराम ढकालले बताए ।

यसैबीच कावासोती नगरपालिकाले तत्कालका लागि वडा भित्र भएका फोहोर सम्बन्धित वडाले नै व्यवस्थापन गर्ने गरी काम शुरु गरिएको कावासोती ६ का वडाध्यक्ष यमबहादुर थापाले बताए ।

उनका अनुसार कावासोती १६ अंकुर सामुदायिक वन भित्रको फोहोर व्यवस्थापनको काम युद्ध स्तरमा अगाडि बढेकोले अब केही दिनमै फोहोर व्यवस्थित रुपमा उठ्ने छ ।

यसैबीच कावासोती २ ले भने कावासोती २ भित्रको फोहोर कावासोती २ मा रहेको हाट बजार भित्र खाडल खनेर पुर्ने गरी फोहोर व्यवस्थापनको काम भईरहेको कावासोती २ का वडाध्यक्ष शिव पाण्डेले बताए ।



सम्बन्धित
Loading...